अब बजारीकरण पनि सिकाऊ
केही वर्षअघिसम्म केही किसानमा सीमित घ्याल्चोकको तरकारी खेती अहिले ब्यवसायिक बनेको छ । तरकारी उत्पादक सहकारी र कृषक समूहमार्फत ब्यवसायिक तरकारी खेतिको लहर नै चलेको छ । किसानले मात्रै होइन, सरकारी र गैरसरकारी क्षेत्रबाट समेत ब्यवसायिक तरकारी उत्पादनमा सघाउने गरी लगानी बढ्दो छ । तर पछिल्लो समय तरकारीको मूल्यमा आएको गिरावटले कृषक सहित उनीहरुलाई सघाइरहेका सबैलाई निराश बनाएको छ । ज्यामिरघाटको एक सहकारीमा आवद्ध किसानले यो सिजन उत्पादन गरेको काउलीले लगानी अनुसारको भाऊ पाएन । एक किलो काउली उत्पादन गर्न किसानको झण्डै २२ रुपैया लगानी पर्छ । तर सो सहकारीका किसानले उत्पादन गरेको काउली ब्यापारीले ३ रुपैया भन्दा बढीमा किन्न नसकिने बताए । अहिले एउटा सहकारीका डेढ, दुईसय किसानलाई परेको मर्का भोली अरु ब्यवसायिक किसानलाई नपर्ला भन्न सकिन्नँ । त्यसका लागि अहिलेदेखिनै पहल थाल्नु जरुरी छ । किसानसँग ३ रुपैया किलोमा किनिने काऊली खुद्रा वजारमा ५० रुपैया भन्दा कममा पाइन्नँ । यसको प्रमुख कारण तह तहका बिचौलिया हुन् । त्यसैले पहिलो प्रयास भनेको सहकारी वा कृषक समूहले उत्पादन गर्ने कृषि उपज उनीहरु मार्फत सिधै वजारमा पु¥याउन सक्ने अवस्था बनाउनु पर्छ । यस्तै देशका ठूला तरकारी वजारमा वास्तविक किसानलाई प्राथमिकताका आधारमा बिक्री कक्ष उपलब्ध गराइनुपर्छ । घ्याल्चोक आसपासको तरकारी खेतीलाई लक्षित गरि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालित छ । यस्ता परियोजनाले उत्पादनमा मात्रै होइन, त्यसको वजारीकरणका तौरतरीका पनि सिकाउनुपर्छ । चलायमान वजारको माग र आपूर्ति अनुमान र विश्लेषण गरेर कृषि उपज उत्पादन गर्न सके घ्याल्चोकका काउली उत्पादक किसानलेझैं भविष्यमा अरु किसानले समस्या भोग्नु नपर्ला ।




