जुवातासमुक्त तिहार बनाऔं
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । अहिले विशेष गरी हिन्दूधर्मालम्बीको महान चाड तिहारको बेला छ । फूलमाला र रङ्गीबिरङ्गी बत्तीले गाउँसहर झिलिमिली भइरहेको छ ।
दशैंमा मासुजन्य खाद्यपदार्थको अधिकता भएजस्तै तिहार रोटीजन्य खाद्यपदार्थको अधिकता भएको पर्व हो । टोलटोलमा यस्ता सामग्री बनाउन विशेषगरी महिलाहरु सक्रिय छन् ।
तीन दिने बिदाको अबसर पारेर गाउँबाट सहर, सहरबाट गाउँ जाने आउनेको भीड बढ्न थालेको छ । दशैंमा विदा नपाउनेले तिहारमा बिदा लिएर खुशी मनाउन थालेका छन् ।
टोलटोलका युवाक्लव, आमा समूह, सहकारी तथा बिभिन्न समूहहरु देउसीभैलोको तयारी गरिरहेका छन् । समग्रमा बेला रमझमको छ । यही बेला केही बिकृति पनि देखा पर्न थालेको छ । केही समूह जुवातासमा कोठाभित्र झुम्मिन थालेका छन् । यो बिकृति हो । जुवातास कसैका लागि पनि हितकर हुदैन । यसले रमझममा रमाउने मान्छेलाई तनाबमा झुम्म बनाइराख्छ । जुवाको हारजीत आर्थिक रुपमा पनि घातक हुन्छ । जुवा जितेर कसैले प्रगति गरेको भन्ने उदाहरण समाजमा भेटिएको छैन । उँडेर आएको पैसा उँडाएरै फालेको देखिएको छ । जुवा हारेर कङ्गाल भएको उदाहरण भने समाजमा प्रसस्तै छ । त्यसैले यो घातक जुवाको जरा उखेल्न युवा समूहकै सक्रियता चाहिन्छ । तिहारका बेला बिस्फोटक पदार्थ बिस्फोटको बिगबिगी अर्को बिकृति हो । रमाइलो वातवरणमा रमिरहेका बेला अचानक यस्ता बिस्फोटले मानव मन आतंकित हुन्छ । त्यसैले यस्ता गतिबिधि हुनुहुदैन । कानूनत पनि दण्डित भइने, वातावरणलाई पनि त्रसित बनाउने गतिबिधि कसैका लागि पनि हितकर हुदैन ।




