| बुधबार, साउन २६, २०८३

विद्युत चोर्नेलाई सबैले निरुत्साहित गरौं

शिक्षा, स्वास्थ्य परको कुरा । विकासको पूर्वाधारको पर्याय सडक बनेको छ । त्यस्तै अर्को पर्याय विजुली पनि बनेको छ । विजुली बिना अहिले के नै सम्भव देखिएको छ र ? नयाँ पुस्ता विद्युतविहित ठाउँमा बस्न सक्नु परको कुरा विद्युत विहिनताको कल्पना पनि गर्न सक्दैनन् । त्यसैले अहिले विकासको अर्को पर्याय विद्युत पनि बनेको छ ।
यति महत्वपूर्ण स्थानमा रहेको विद्युत उत्पादन गर्नु र संरक्षण गर्नु सबैको दायित्व हो । गोरखाको सन्दर्भमा विद्युत करिब १३ प्रतिशत चुहावट हुने गरेको छ । प्राविधिक कारणले र अप्राविधिक कारणले विद्युत चुहावट हुने गरेको तथ्य विद्युत प्राधिकरणसंग छ । प्राविधिक कारणको अर्थ गुणस्तरहीन टूान्समिसन तार, पोल, टूान्समिटर, पोल वा तारको संरचना भत्कनु आदि कारणले पनि विद्युत चुहावट भइरहेका छन् । अप्राविधिक कारणको अर्थ, चोरी गर्नु हो ।
यी दुवै कारणको खोजी तिब्र रुपमा गर्नुपर्छ । बिभिन्न ठाउँमा तार लत्रिरहेका हुन्छन्, पोल ढलिरहेका, ढल्किरहेका हुन्छन् । प्रशासन वा प्राधिरणको नजर नपरेको ठाउँमा विद्युत चोरी भएका घटना पनि धेरै छन् । गाउँमै छन्, सहरमै छन् । अहिले विद्युत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई तिब्रता त दिएको छ, दिदादिदै पनि करिब १३ प्रतिशत चुहावट त भइरहेको छ । विद्युत अपुग भइरहने हाम्रो जस्तो ठाउँमा यति विद्युत खेर जानु पनि ठूलै क्षति हो ।
त्यसैले प्राधिकरणले यसमा अझै निगरानी गर्नुपर्छ । कमसल प्रविधिलाई सुदृढ गर्नुपर्छ । चोरी नियन्त्रणमा कडाइ गर्नुपर्छ । प्राधिकरणले मात्र होइन, आमले पनि विद्युत चोरीलाई निरुत्साहित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्