ज्येष्ठ नागरिक, अपांग, महिला सिट कार्यान्वयन होओस्
लामो दुरीको होओस् वा छोटो दुरीको होओस्, हरेक यात्रुबाहक बसमा अरक्षित सिट उल्लेख गरिएको हुन्छ तर हास्यास्पद के छ भने महिलासिट भनेर लेखिएको सिटमा पुरुष बसिरहेका हुन्छन् । ज्येष्ठ नागरिक, वा अपांग लेखिएको सिटमा पनि त्यस्तै फरक यात्रु बसि रहेको देखिन्छ ।केही बर्षअघि जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले ज्येष्ठ नागरिकलाई परिचय पत्र दिने र परिचयपत्रबाहक ज्येष्ठ नागरिकलाई निश्चित प्रतिशत भाडा छुट दिने निर्णय गरेको थियो । तर यो पनि कार्यान्वयन भएको छैन । अहिले यातायात ब्यबस्था विभागको परिपत्र अनुसार ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएकौ छ । जिल्लाको पृथ्वी राजमार्ग बस ब्यबसायी समिति र गोरखा यातायात ब्यबसायी समितिलाई पत्राचार गरि प्रशासनले सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई कानुन अनुसार सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो । ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा सवारी धनी वा सञ्चालकले ज्ेयष्ठ नागरिक का लागी कम्तीमा दुई सिट सुरक्षित राख्नुपर्ने उल्लेख छ । साथै ऐनले ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिनुपर्ने ब्यबस्था छ । तर सबै ज्येष्ठ नागरिकले यो सेवा पाएका छैनन् । यातायात व्यबसायीले दिएका छौं भन्ने दाबी गर्न सक्छन् । उनीहरुको सूचना सही हो वा गलत हो भन्ने बारेमा सडकमा खटिएका ट्राफिक प्रहरीले अनुगमन गर्नुपर्छ । गोरखा जिल्लामा करीब २५ हजार ज्येष्ठ नागरिकको बसोबास छ । संघले ६ सय ज्येष्ठ नागरिकलाई परिचय पत्र वितरण भैसकेको छ । एकदिन सबै ज्येष्ठ नागरिक हुने हो त्यसैले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न आजैबाट सिक्नुपर्छृ ।




