| बुधबार, साउन २६, २०८३

बजार अनुगमन गर्ने बेला भएको छ

हिन्दू नेपालीहरुको महान पर्व दशै सुरु भइसकेको छ । गाउँ सहर सबतिरका अहिले मान्छेहरु चाड मान्ने खर्चको जोहो गर्दैछन् । त्यसैले यो बेला बजारमा मान्छेको घुइँचो छ ।
पुराना सामानहरु ‘सेल’को नाममा अहिले सडकको फुटपाथमा पसारो पारिएको छ । यसमा कति ग्राहकहरु ठगिन सक्ने सम्भावना छ । कुन सामान कति पुरानो, कुन अबस्थाको भन्ने कुनै लेखाजोखा छैन ।
सस्तो बजार भनेर रंगशालामा सञ्चालन भएरहेको ठाउँमा कतै गुणस्तर हीन सामान पो बिक्री भइरहेको छ कि ? यसमा अनुगमन कसले गरेको छ । सस्तोको सूचक के हो ? यसको बारेमा पनि मूल्यांकन गर्नुपर्छ ।
बजार अनुगमन गर्ने निकाय जिल्ला स्तरमा पनि छ, स्थानीय तह स्तरमा पनि छ । त्यस्ता संयन्त्रहरु सँधै सक्रिय भइरहनु पर्दैन । जतिबेला बढि सामान खपत हुदैछ, जतिबेला धेरैभन्दा धेरै उपभोक्ताहरु बजारमा निस्कन्छन्, त्यो बेला बजारमा जस्तोसुकै ब्यापार हुनसक्छ त्यसैले यस्तो समयमा बजार अनुगमन जरुरी छ ।
चिनी अहिले मूल्य निश्चित नहुँदा सुपथ मूल्यको चिनी थन्किएका छन्, महंगो चिनी धमाधम उपभोक्ताहरु किन्न बाध्य छन् । यस्तो अबस्था सिर्जना गर्नुमा सरकारको बढि गैरजिम्मेवारीपन देखिएको छ । यथासीघ्र मूल्य निर्धारण गरी सुपथ मूल्य चिनी उपभोक्ताको हातहातमा पु¥याउनु पर्ने हुन्छ ।
गोरखा बजारको सन्दर्भमा नगरपालिकाले गठन गरेको बजार अनुगमन समिति तथा जिल्ला प्रशासन कार्यालय माताहतको अनगुमन टोली यतिबेला बजारमा निस्कनु अपरिहार्य छ । धेरै उपभोक्ता बजारमा निस्किएका बेला कहीं गुणस्तरहीन सामान पो ग्राहकको हातहातमा पुगेको छ कि अनुगमन गर्नु अति जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्