| आइतवार, साउन २३, २०८३

सामाजिक सञ्जाल प्रयोग गरेर उत्कृष्ट बन्ने कि निकृष्ट ?

एक महिनाअघि जेन जीको आन्दोलनका क्रममा पूर्व प्रधानमन्त्री तथा माओवादी संयोजक प्रचण्डको घरबाट दुईवटा ट्रकले नगद स्थानान्तरण गरेको भनेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भयो भन्दै देशभरका वाइसिएल तथा अखिल क्रान्तिकारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए । उनीहरुले यस्ता दुश्प्रचार गर्नेलाई कारबाही गर्न माग गरेका थिए ।
अहिले प्रचण्डमात्र होइन, विशेषगरी राजनीतिक दलका नेताहरुलाई सामाजिक सञ्जालबाट बद्नाम गराउने प्रचलन बढ्दो छ । सत्य, असत्य विषयबस्तु पोस्ट गरी नेताहरुलाई खुइल्याउने कार्य भइरहेको छ ।

कसैलाई दुस्प्रचार गर्ने प्रयत्न गर्दा त्यस्तो व्यक्ति आफै गिरिरहेको हुन्छ । अर्काको दुश्प्रचार गर्ने धुनमा पटक पटक मिथ्या सूचना पोस्ट गर्दा उ स्वयं अडियन्सको नजरमा तल परिरहेको हुन्छ ।
आजको युग सूचना र प्रविधिको युग हो । यस युगको सबैभन्दा शक्तिशाली माध्यम बनेको छ– सामाजिक सञ्जाल । फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता मञ्चहरू केवल मनोरञ्जनका साधन मात्र रहेनन्, बरु सूचना र ज्ञानको विशाल भण्डारका रूपमा स्थापित भएका छन् । यही मञ्चलाई सदुपयोग गर्न सके हरेक व्यक्तिले आफ्नो जीवनमा कायापलट ल्याउन सक्छ, उत्कृष्ट बन्न सक्छ । यसकै दुरुपयोग गरे उ निकृष्ट बन्दछ ।

सामाजिक सञ्जालको सबैभन्दा ठूलो सकारात्मक पक्ष भनेको यसले ज्ञानको क्षितिजलाई फराकिलो बनाउनु हो । संसारको कुनै पनि कुनामा भएको नवीनतम अनुसन्धान, शैक्षिक सामग्री, सीप विकासका तालिमहरू र प्रेरणादायी कथाहरूमा हाम्रो पहुँच सहजै पुगेको छ । यसलाई रचनात्मक रूपमा प्रयोग गरेमा जो कोही उत्कृष्ट बन्न सक्छ ।

तर, यसको गलत प्रयोगले व्यक्ति र समाज दुवैलाई निकृष्टतातिर धकेल्न सक्छ । तथ्यहीन, भ्रामक र उत्तेजक सामग्रीहरूले सामाजिक सद्भाव बिथोल्ने, चरित्र हत्या गर्ने र साइबर अपराधलाई बढावा दिने खतरा दिनानुदिन बढ्दै गएको छ ।
सामाजिक सञ्जालबाटै उत्कृष्ट बन्ने बाटो सधैँ खुला छ । त्यसैले हामीले सञ्जालको शक्तिलाई बुद्धिमत्तापूर्ण ढङ्गले प्रयोग गर्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्