| आइतवार, कार्तिक २२, २०८३

नगरपालिकाले गर्ने कि लिगलिगे दौड ?

गोरखा राज्य स्थापना गर्ने नायक द्रव्य शाह जन्माउने ऐतिहासिक लिगलिगे दौडको बिरासत जोगाउन अहिले स्थानीय स्तरमा पहल
भइरहेको छ । स्थानीय लिगलिगकोट विकास अभियानले बिगत नौ बर्षदेखि निरन्तर रुपमा लिगलिगे दौड सञ्चालन गरिरहेको छ । अभियानले चेपे र मस्र्याङ्दीको दोभानदेखि १३.८ किलोमिटर दौड प्रतियोगिताको आयोजना गर्ने गर्छ । जित्नेलाई श्रीपेच लगाएर स्थानीय स्तरको राजसी सम्मान गर्ने गर्छ । अभियानको यो निरन्तरताले अहिले लोकप्रियता कमाइरहेको छ । लोकप्रियताकै कारण अहिले देशभरिबाट धावकहरु दौड प्रतियोगितामा सहभागी हुन आउँछन् । त्यसैले लिगलिगे दौडका लागि आयोजक, प्रायोजक, सहयोगदाता, शुभेच्छुकहरु पनि बर्षेनी उत्साहित हुदै गएका छन् । लिगलिगकोेट ऐतिहासिक पर्यटनका हिसाबले पनि महत्वपूर्ण छ । गोरखाको इतिहास अध्ययन भ्रमण गर्न आउनेहरुलाई लिगलिगकोटसम्म पु¥याएर थप अध्ययन गराउने
वातावरण गर्नुपर्छ । लिगलिगे दौड गरेर बर्षमा एकफेर रमझम मेला गरेर मात्र भन्दा पनि दिनहूँ पर्यटक आउने वातावरण सिर्जना गर्नुपर्छ । लिगलिगे दौड अब स्थापित भइसकेको छ । त्यसैले अब दौड जस्ता अन्य गतिविधि गरेर यसको ऐतिहासिकता बेचेर पर्यटक भित्र्याउनु पर्छ । त्यसका लागि लिगलिगे दौडको आयोजना नगरपालिका आफै आयोजक भएर गर्नुपर्छ । अनि दौड जस्तै अन्य गतिविधि गर्न सुरु गर्नुपर्छ । यसको विकासको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी विकासको कामलाई चरणवद्ध रुपमा अघि बढाउनु पर्छ । पालुङ्टार भावी सहर हो । यसको बहुआयामिक पक्षहरुमध्य एउटा पाटो दौड हो । यस्तै थुप्रै पक्षहरु हुनसक्छन् । त्यस्ता सम्भाव्यताको अध्ययन र कार्यान्वयन गरी लिगलिगकोट र सिंगो पालुंटारको विकास गर्नुपर्छ । यसका लागि
नगरपालिका कार्यालयले मेलाको आयोजना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्