
देशले नयाँ गति लिनेमा आशावादी
पूर्व प्रधानन्याधीश सुशीला कार्कीले देशको नेतृत्व सम्हालेपछि अब राजनीतिक तरलताले एउटा आकार लेला भन्ने आशा गर्ने वातावरण सिर्जना भएको छ । कुनै समयको न्यायपालिकाको कुशल नेतृत्व गरिसकेकी कार्कीले विद्यमान गञ्जगोल बन्दै गएको राजनीतिक परिस्थितिलाई सहि गति दिन प्रधानमन्त्री पद सम्हालेपछि अब राजनीतिक निकास निस्केला भन्ने आशा र अपेक्षा गर्ने वातावरण बनेको हो ।
जोशिला युवाहरुले आन्दोलन गर्न जान्छन्, उनीहरुको तातो रगतले संघर्ष गर्न सक्दछ तर राजनीतिक निकासका लागि परिपक्कता अभाव देखिन सक्छ । तर युवाहरुले आफूहरुले राजनीतिक नेतृत्व नसम्हाल्ने बरु पूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै कार्कीको नेतृत्वलाई अघि बढाउन चाहेपछि अब उनले बिना कुनै खोट राजनीतिक रथलाई गति दिने विश्वास लिन सकिन्छ ।
किनभने अहिलेको मुख्यशक्ति जेनजी शक्ति र सैन्यशक्ति हो । दुवै शक्तिले उनलाई चुनेका छन् र पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुको शक्तिको आडमा वुद्धिमतापूर्ण ढंगले कदम चालेमा केही दिनदेखि रोइरहेको नेपाल अब सही दिशामा अघि बढ्ला भनेर अपेक्षा गर्न सकिन्छ ।
पुराना राजनीतिक नेतृत्वले युवा पुस्तालाई राजनीतिक नेतृत्वको लगाम हस्तान्तरण गर्नुपर्ने माग हरेक पार्टीभित्र र बाहिरबाट उठिरहेका बेला जेनजीको आन्दोलनले यो बाध्यकारी परिस्थिति सिर्जना गरेको छ । ५० जनाभन्दा धेरैको ज्यूज्यान गएको र खर्बौँ रुपैयाँ बराबरको भौतिक संरचना क्षति भएको इतिहास अहिलेका पुस्ताको मन मुटुमा अमिट अक्षरले लेखेर रहनेछ ।
यो दुखद घटनाबाट सिर्जित शोकलाई शक्तिमा बदल्दै अब हरेक राजनीतिक पार्टीले ज्येष्ठ नेतृत्वलाई सल्लाहकारमा शिरोपर गर्दै नयाँ पुस्तालाई राजनीतिक नेतृत्व सुम्पने हो भने नेपालकै भावी दिनहरु पनि सुनौला बन्नेछन् भन्ने आशा गर्न सकिन्छ ।




