
सामाजिक सञ्जाल प्लेटफर्म बन्न गर्नु ठिक पनि, बेठिक पनि
अहिले सामाजिक सञ्जालका कतिपय प्लेटफर्म निस्क्रिय पारिएका छन् । जुन प्लेंटफर्म सबैभन्दा धेरै प्रयोग हुने गरेका थिए, ती प्लेटफर्म बन्द हुँदा प्रयोगकर्ताहरु मर्कामा परेका छन् ।
जो जुन पेशा, व्यवसायमा भए पनि, सामाजिक सञ्जालको प्रयोगले काममा सहजता प्रदान गरिरहेको थियो, कसैलाई मनोरञ्जन प्रदान गरिरहेको थियो । यसको प्रयोग गर्न नपाउँदा जो कसैलाई बाधा व्यवधान भोग्नु परेको छ ।
सामाजिक सञ्जालका कारण आजका नागरिक धेरै सचेत, धेरै सुसूचित भएका छन् । परम्परागत मिडियाको पहुँचमा नरहेका व्यक्ति तथा त्यस्ता ठाउँहरुमा सूचना, जानकारी लिने र दिने माध्यम सामाजिक सञ्जाल प्लेटफर्म थियो, तर अहिले बन्द रहँदा उनीहरुमा सूचनाको भोकले दपेटिएका छन् । त्यस्तै मनका भावना, पोख्ने माध्यम नै नहुँदा उनीहरु समस्यामा परेका छन् ।
देश विदेशमा भइरहेका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, खेलकुदसम्बन्धी, कला, तथा सांस्कृतिक गतिविधिका बारेमा जानकारी प्राप्त गर्ने माध्यम सामाजिक सञ्जाल बनेको थियो । यो शिक्षा, चेतनाको पुञ्ज बन्द हुँदा तड्पिनु स्वभाविक भयो ।
अहिले नेपालका अधिकांश युवा विदेशमा छन् । अर्थात घरदेशकै पनि सहरी क्षेत्रमा छन् । सामाजिक सञ्जाल बन्द हुँदा स्वदेशी तथा वैदेशिक रोजगारीमा रहेकाहरुले घर परिवारसंग संवाद, सम्पर्क गर्न पाएका छैनन् । घरमा बस्नेले परदेशमा रहेका आफना आफन्तहरुसंग कुराकानी गर्न पाएका छैनन् । भिपिएन प्रयोगकर्तामा डेटा चोरिने त्रास छ ।
यसरी हेर्दा सामाजिक सञ्जाल बन्द गर्नु अनुचित देखिन्छ ।
अर्कातर्फ कुनै पनि देशमा व्यापार, विजनेश गर्ने कम्पनीले त्यस देशमा प्रचलित नियम, कानून अवलम्बन गर्नु अपरिहार्य छ । सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालन गरी प्रशस्त आर्थिक कारोबार गर्ने मेटाजस्ता कम्पनीले, नेपालमा सबैभन्दा रुचाइएको फेसबुक, स्वाट्सएपु जस्ता प्लेटफर्म सञ्चालन गर्न काननी प्रक्रिया पूरा गर्न आधारभूत नियम हो । यसमा आनाकानी गर्न त्यति ठूला कम्पनीले श्रेयस्कर हुदैन । त्यसैले तिनीहरुलाई कानूनी दायरामा ल्याउन उठाइएको यो कदम सह्राननीय नै छ ।




