
लार्के सडकमा चाँडो यातायात सुचारु गर
तातोपानीनेर उहियाबाट झरेको पहिरोले लार्के सडक अवरुद्ध गरेको दुई हप्ता भयो । अहिलेसम्म सो सडकमा यातायात सुचारु गराउन सकिएको छैन । उहियाको डाँडाबाट झरेको पानीले लेदो बगाएर ल्याउने तथा सडक बगाएर बूढीगण्डकीमा झार्ने गरेको भन्दै त्यहाँको पहिरो पन्छ्याउन प्रयास पनि भएको छैन ।
सडक अवरुद्ध हुँदा जगतसम्म पुग्ने गरेको यातायातका साधन त्यहाँभन्दा माथि जान सकेको छैन । सवारीसाधन जान नसक्दा तातोपानीभन्दा माथि पर्ने धार्चे १ का गाउँबस्ती, चुमनुब्रीका सातवटै वडाका गाउँबस्तीका बासिन्दा प्रभावित छन् ।
त्यसभेगमा ओसार्नुपर्ने खाद्यान्न लगायतका सामानहरु पनि ओसार्न सकिएको छैन । मान्छेहरु पनि पहिरोको बाटो जोखिम मल्दै हिँड्नु पर्ने बाध्यता छ ।
अब त झन् पर्यटक सिजन सुरु भएको छ । मनास्लु क्षेत्र, चुम क्षेत्र प्रवेश गर्नु विदेशी पर्यटकलाई बोकेर जाने सवारी साधन त्यस ठाउँभन्दा माथि सवारी साधन चढेर जान सकेका छैनन् । उनीहरुका लागि आवश्यक खाद्यान्न लगायतका सामग्री ढुवानी गर्न पनि सकस भएको छ ।
खच्चडले ढुवानी नगर्ने होइन, तर पहिरोमा खच्चड हिडाउनुको जोखिम पनि अकल्पनीय हो ।
त्यति मात्र होइन, उत्तरी गोरखामा उत्पादित स्याउ अब बजार झार्ने समय भएको छ । जगतसम्म खच्चडमा बोकाएर ल्याए पनि त्यहाँबाट गाडीमा सहर पु¥याउन सके किसानलाई ढुवानी ज्याला धेरै नलाग्ने थियो । लामो दुरी खच्चडमार्फत बोकाउँदा स्याउ बिग्रिने खतरा पनि हुन्छ । त्यसैले जति माथिसम्म गाडी पुग्न सक्यो, त्यति सुरक्षित, सुपथ हुने थियो ।
तसर्थ ढिला नगरी सो खण्डमा सवारी साधन चल्ने वातावरण बनाउनु पर्छ । स्थानीयबासीको माग र सहजतालाई मध्यनजर गरी जगत तथा पाङसिङसम्म सवारी साधन चल्ने वातावरण बनाउनु पर्छ ।




