| आइतवार, जेष्ठ १६, २०८३

पर्व सुधारको अभियानलाई कि तीब्र बनाऊ, कि छोडिदेऊ

पर्व समय सुधार राष्ट्रिय समाजले बिगत १५ बर्षदेखि भदौमा दशै मनाउँदै आएको छ । खगोल विज्ञानका आधारमा समय एक महिना अघि सरेको भन्दै सो समितिले गोरखाका विभिन्न भूभागमा एक महिना अघि नै दशै मनाउने गरेको हो ।

दशै एक महिनाअघि मनाउने कार्यक्रम उनीहरुले सरकारलाई दिएको सांकेतिक सुझाव हो । दशैं मात्र एक महिनाअघि सरेको होइन । हरेक दिन, हरेक पल एक महिना अघि सरेको हो । दशैं एक महिना अघि मनाउनु यसको सांकेतिक प्रदर्शनी मात्र हो ।
एकातिर १५ बर्षसम्म भदौमा दशैँ मनाउँदा पनि सरकारले कत्ति पनि टेरपुच्छर नलगाउने, अर्कातिर सो समितिले आफ्ना कार्यक्रम स्थगन पनि नगर्ने, पछाडि पनि नफर्कने, यसले सर्वसाधारणमा भने भ्रम परेका छन् । बर्षको अवधिलाई फर्केर हेर्दा भदौमा दशै मनाउनेको आकार साइज बढेको पनि छैन, घटेको पनि छैन । दशैं मनाउने तौरतरिका फेरिएको पनि छैन ।

यदि समय वा पर्व सुधार गर्ने नै हो भने यसको प्रचार प्रसार अलिक तीब्रत्तर रुपमा बढाएर, देशव्यापी बनाएर अघि बढ्नु पर्ने देखिन्छ । नत्र सँधै एउटै बाटो, सँधै एउटै घुम्तिमा घुमेर मात्र गन्तव्यमा पुगिँदैन । तसर्थ कि अलिक तीब्र गतिमा, सही दिशामा हिँड्नु पर्छ , कि यो एउटै गोलो घेरामा घुमिरहने यात्रा बन्द गर्नु वुद्धिमानी हुन्छ ।

अन्यथा तमासा वा हाँसोको विषय मात्र बन्नसक्छ । भदौमा दशै मनाएको विषयमा आम जनमानसमा अहिले नै पनि हाँसोको विषय नबनेको होइन । उपाहास गर्नेलाई सत्य सावित गरी देखाउने चुनौति सो समितिलाई छ । त्यसैले अलिक संवेदनशील भएर कार्यक्रमलाई मजबुद बनाएर अघि बढाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्