
लोप हुँदै गरेको कुसुण्डा समुदायलाई संरक्षण गरौँ
नेपाल बहुधार्मिक, बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय समुदायको बसोबास रहेको देश हो । कुनै जातजाति बहुसंख्यक हुने, कुनै समुदाय कम संख्यामा हुनु स्वभाविक हो । त्यसमध्य कुसुण्डा समुदाय अति कम जनसंख्या भएको समुदाय हो । त्यसैले यस समुदायलाई सरकारले लोपोन्मुखको तहमा राखेको छ ।
गोरखामा जम्मा एकमात्र कुसुण्डा घरपरिबार बसोबास गर्छन् । उनीहरुको पनि आर्थिक अबस्था ज्यादै न्यून भएकाले परिबारका सदस्य रोजगारीका क्रममा विदेश गएका छन् । घरमा बस्नेहरुले पनि निकै दुख सास्तीमा दिन गुजारी रहेका छन् ।
एक घरमात्र बसोबास गर्ने कुसुण्डा जातिलाई संरक्षण गर्न गोरखा नगरपालिकाले पनि विशेष नीति बनाउनु टड्कारो आवश्यकता छ ।
गोरखामा रहेको एक मात्र कुसुण्डा परिवारको अवस्थाले सबैलाई गम्भीर भएर सोच्न बाध्य पारेको छ । यो परिवार पनि लोप हुने अवस्थामा पुगेको खबरले सबैलाई दुःखी बनाएको छ । उनीहरूको भाषा, जुन विश्वको कुनै पनि भाषासँग मिल्दैन, अब लगभग हराइसकेको छ । उनीहरूको जीवनशैली, ज्ञान र संस्कृति पनि इतिहासको पानामा सीमित हुने खतरा बढेको छ ।
कुसुण्डा जातिको लोप हुनु भनेको एउटा मानव समुदायको मात्र होइन, एउटा अनमोल ज्ञानको भण्डार र हाम्रो साझा सम्पत्तिको पनि लोप हुनु हो । यो कुनै एउटा समुदाय वा सरकारको मात्र जिम्मेवारी होइन, सबै नेपालीको साझा दायित्व हो । यसका लागि तत्काल एकीकृत र प्रभावकारी पहलको खाँचो छ ।
त्यसैले उनीहरुलाई जीविकोपार्जनको राम्रो बाटो बनाइदिनु पर्ने जरुरी छ । त्यस्तै कुसुण्डा परिवारलाई शिक्षा र स्वास्थ्य सेवामा निःशुल्क पहुँच सुनिश्चित गर्नुपर्छ ।
भाषा र संस्कृतिको अभिलेखीकरणस् उनीहरूको भाषालाई लिपिबद्ध गरी अभिलेखीकरण गर्न तत्काल विज्ञहरूको टोली खटाउनुपर्छ ।
उनीहरु जग्गाजमिन बिहिन छन् । घर अट्नेबाहेक जग्गा नभएकाले गरिखाने जग्गाको व्यवस्था गर्नु जरुरी छ ।




