| आइतवार, अशोज ३, २०८३

बाढी पीडितका लागि गोरखाको सहयोग प्रसंसनीय

गोरखा स्थानीय तहहरुले भोटेकोशी–त्रिशुली बाढी पीडितका लागि तीनकरोड राहत रकम संकलन गरेका छन् । पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक र नगरपालिकाको कोषबाट जुटेको सो रकम उनीहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन् ।

सबैभन्दा धेरै गोरखा नगरपालिकाले ५० लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै पालुङटार नगरपालिकाबाट ३९ लाख रुपैयाँ संकलन भएको छ त्यस्तै भीमसेनथापा गाउँपालिकाबाट ३५ लाख रुपैयाँ र सिरानचोक गाउँपालिकाले ३३ लाख ५० हजार रुपैयाँ संकलन गरेका छन् ।

सहिदलखन गाउँपालिकाले ३० लाख ७५ हजार रुपैयाँ र बारपाक सुलिकोट गाउँपालिकाले २८ लाख ५९ हजार रुपैयाँ संकलन गरेको जनाएका छन् । त्यस्तै अजिरकोट गाउँपालिकाले २७ लाख ६६ हजार रुपैयाँ, धार्चे गाउँपालिकाले १५ लाख रुपैयाँ, गण्डकी गाउँपालिकाबाट २० लाख रुपैयाँ, चुमनुब्री गाउँपालिकाबाट १२ लाख २० हजार रुपैयाँ र आरुघाट गाउँपालिकाले ११ लाख ३३ हजार रुपैयाँ राहत रकम संकलन गरेका गाउँपालिकाहरुले जनाएका छन ।

बाढी पीडितका लागि गोरखाका पालिकामात्र नभै वडा कार्यालय, टोल, विभिन्न संघसंस्था, उद्योगी, व्यापारी र व्यक्तिगत तहबाट पनि राहत रकम जुटेको छ । दुखमा परेकाका लागि यसरी राहत रकम जुटाउनु धेरै ठूलो उदारता हो । स्थानीय सरकारले आफ्नो पालिकाभित्र मात्र कार्यक्रम गर्दछ भन्ने अवधारणाबाट माथि उठेर दुखमा परेकाहरुका लागि सहयोगको पवित्र कार्यमा पनि जुट्दछन् भन्ने छाप यो कार्यले गरेको छ ।

११ बर्षअघि गोरखा भूकम्पले छियाछिया हुँदा यहाँको दुखेको मन सिलाउन देशभरिबाट सहयोग जुटेको थियो । त्यसबाट पाठ सिकेर गोरखाले पनि रसुवा र नुवाकोटका बाढी पीडितलाई राहत रकम जुटाएर सहयोग गरेको छ । यो महान काम गर्ने पालिकाहरु धन्यवादका पात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्