
आफन्त फर्कने आशा मरेपछिधमाधम काजकिरिया
शिव उप्रेति
गत भदौ १० गते रसुवाको बाढीपछि बेपत्ता भएका सहिदलखन गाउँपालिका १ भोगटेनीका २४ बर्षीय पुकार थापालाई परिवारले कुरेको आज २५ दिन बित्यो । तैपनि कतैबाट टुप्लुक्क आइपुग्छन् कि भन्ने आशा गर्दागर्दै निराशा मात्र हातलागेपछि उनीहरु अन्तिम संस्कार गर्ने टुंगोमा पुगे ।
पुकार स्याफ्रुवेशीमा डोजर चालक काम गर्दथे ।
‘तैपनि आउँछ कि भन्ने आशा गर्दै कुरेको २५ दिन बित्यो । अब निराश भइयो’, उनका बुबा प्रकाश थापाले भने, ‘कतै फेला पर्छ कि भनेर काठमाडौं, चितवन, पोखरा, गोरखा धाउनसम्म धायौँ । कतै सूचना पाइएन । अब फर्किने आशा मारेर काज किरिया सुरु गर्यौ ।’ मस्र्याङ्दी र दरौंदीको संगमस्थल रामशाहघाटमा कुशको शव बनाएर पुकारको दाहसंस्कार गरी ७१ बर्षका हजुरबा एकबहादुर ११ दिनसमम किरिया गर्दैछन् ।
यतिका दिन भइसक्दा पनि कतै नामोनिशाना नभेटिएपछि सहिदलखन गाउँपालिका ८ कुवापानीबेशीका प्रदीप खड्काको परिबार पनि अहिले निराश भयो । ३८ बर्षका खड्का भेटिने आशा मरेपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय ग¥यो । खोजी गर्ने सबै ठाउँबाट निराशाजनक जवाफ आएपछि परिवारले उनको पनि काजकिरिया गर्ने निधो गर्यो । नौ बर्षका कलिला छोरा प्रशन खड्काले प्रदीपको कुशको देहमा दागवत्ती दिए । काका दीपक खड्का किरियामा बसे । अहिले उनको काजकिरियाको काम भइरहेको दाजु सन्दीप खड्का बताउँछन् । खड्का हिमालय ग्लेसियर ट्रेकिङ कम्पनीका गाइड थिए । पर्यटक लिएर जाँदा उनी त्रिशुलीको बाढीमा परेर बेपत्ता भएका थिए ।

क्लासिक भ्याकेशन नेपाल नामक ट्रेकिङ कम्पनीका सञ्चालक सहिद लखन ८ मैलुङका चेतप्रसाद भट्ट पनि फर्कने आशा मरेपछि परिवारले अन्त्येष्टिको बाटो अपनाएको छ । फर्केर आउने कुनै आशा नभएपछि छोरा सुलभ भट्टले चेतप्रसादको अन्तिम संस्कार गरेका बेपत्ता भएका चेतप्रसादका दाजु सोमनाथ भट्टले जानकारी दिए ।
त्यस्तै त्रिशुलीको बाढीमा बेपत्ता भएका सहिद लखन गाउँपालिका ६ तीनघरेका ३३ बर्षीय कृष्ण थापा, सहिद लखन ७ निम्जुङका ३० बर्षका सुजन आलेको पनि परिबारले काजकिरिया गरिसकेका गाउँपालिकाका अध्यक्ष रमेश थापाले जानकारी दिए । फर्कने आशा मरेपछि सहिद लखन ३ हटियाका ५२ बर्षीय राजेन्द्र श्रेष्ठको पनि परिवारले दाहसंस्कार गरेको जनाएको छ ।
सहिदलखन ७ मकैपुरका २८ बर्षीय राजकुमार परियारको भने अझै किरिया नगरेको बुबा रामचन्द्र परियारले जानकारीदिए । रसुवागढीभन्दा पारि चाइनातर्फ होटल सञ्चालन गरेर बसेका उनको अहिलेसम्म कुनै अत्तोपत्तो नरहेको बुबा रामचन्द्रले बताए । पर्खेर बसिरहने कि, अन्त्येष्टि गर्ने भन्ने अन्यौलमा परेको उनको भनाइ छ । रसुवाको बाढीमा परी सहिदलखन गाउँपालिका ७ जना बेपत्ता भएकामा अहिलेसम्म कसैको पनि अत्तोपत्तो नभएको गाउँपालिकाका प्रमुख रमेश थापाले जानकारी दिए । उनीहरुमध्य एकजनाबाहेक सबैको परिवारले आशा मारेर अन्त्येष्टि गरेको उनको भनाइ छ ।




