
नागरिकलाई सेवा गर्ने र हुलाकलाई प्रभावकारी बनाउने अवसर
जिल्ला हुलाक कार्यालय गोरखामार्फत वैशाख १५ यता ५५० जना नागरिकले आफ्नै घरमा राहदानी (पासपोर्ट) प्राप्त गरेका छन् । राहदानीका लागि फाराम भरेका ६०० जनामध्ये अधिकांशको हातमा (घरदैलो)मै राहदानी पुग्नुले सरकारी सेवा प्रवाहमा नयाँ र सकारात्मक आशा जगाएको छ ।
गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले हुलाकमार्फत घर–घरमै राहदानी पु¥याउने निर्णय गरेबमोजिम जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय गोरखा बीच वैशाख १५ मा सम्झौता भई यो कार्य अघि बढेको हो । झन्झटिलो प्रशासनिक प्रक्रियाबाट मुक्त भई घरमै राहदानी पाउँदा सेवाग्राहीहरू खुसीले दङ्ग पर्नु स्वाभाविकै हो ।
डिजिटल युगको आगमनसँगै परम्परागत चिठीपत्रको चलन घट्दा पछिल्लो समय हुलाक सेवा ‘विजनेश’विहीन जस्तै बनेको थियो । तर, राहदानी वितरणको यो नयाँ जिम्मेवारीले हुलाकको ‘बिजनेस’ मात्र बढाएको छैन, यसको खस्कँदो लोकप्रियता र प्रासंगिकतालाई समेत पुनःस्थापित गरिदिएको छ । सरकारी संयन्त्र र जनशक्ति उपलब्ध हुँदाहुँदै पनि त्यसको सही उपयोग हुन नसकिरहेको अवस्थामा यो प्रयास अन्य सार्वजनिक निकायका लागि समेत अनुकरणीय नजिर बनेको छ ।
नागरिकलाई घरदैलोमै सेवा दिने यो सफलतालाई राहदानीमा मात्र सीमित राख्नुभन्दा यसको दायरा बढाउनु वुद्धिमानी हुनेछ । सरकारले अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण तथा ब्लुबुक नवीकरणजस्ता अत्यावश्यक सेवाहरूको जिम्मेवारी पनि हुलाकलाई नै सुम्पनु आवश्यक छ । यस्ता सेवा हुलाकमार्फत प्रवाह हुन सके नागरिकले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्नेछ ।
झञ्झटबाट मुक्ति पाउने नाउँमा बिचौलिया प्रयोग गर्नुपर्ने वाध्यता पनि हट्नेछ । नागरिकले अनावश्यक प्रशासनिक झञ्झट तथा ठगी र सास्तीबाट मुक्ति पाउनेछन् । त्यसैले, सार्वजनिक सेवालाई प्रविधिमैत्री र नागरिककेन्द्री बनाउँदै हुलाक जस्तो पुरानो संरचनालाई आधुनिक, कामयाबी र भरपर्दो बनाउन सरकारले थप दायरा विस्तार गर्नैपर्छ ।




