हरमटारी सडकमा माटोको टालो ?
नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको दशैं मेलाको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गोरखा आउने निर्णयपछि गोरखा बजारभित्रको, विशेषगरी हरमटारीचोकस्थित सडकको खाल्डाखुल्डीमा माटो राखेर टालियो । उनी गए, माटोको टालो बिस्तारै उँड्दै गयो । अहिले खाल्डो ज्यूँकात्यूँ छ ।
खाल्डो ज्यूँकात्यूँ त भयो नै, त्यहाँ राखिएको धुलो उँडेर बजार प्रदुषित छ । चोक आसपासका बासिन्दा, यात्रु पीडित भएका छन् ।
सार्क वा बिमस्टेक बैठक नजिकिँदा काठमाडौलाई त्यसरी नै टालो हालिन्थ्यो । त्यहाँ त कमसेकम पिचको टालो हुन्थ्यो । तर लाजमर्दो, यहाँ माटोको टालो ।
आँबुखैरेनी(गोरखा सडक निर्माण, मर्मतको जिम्मा सडक डिभिजन कार्यालय दमौलीको हो त्यसैले यो सडक जति बिग्रिए पनि जति भत्किए पनि न जिल्ला समन्वय समितिले मर्मत गर्छ, न नगरपालिकाले मर्मत गर्छ । न जिल्लास्थित सडक योजना कार्यालयले मर्मत गर्छ, न सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले मर्मत गर्छ ।
यी कार्यालयले टालो त हालेनन्, मर्मतका लागि सडक डिभिजन कार्यालयलाई बाध्य पनि बनाएनन् । सरकारी कार्यालयहरुलाई नियमन गर्ने जिल्ला प्रशासन कार्यालयले सुझाउनु पर्ने हो, अटेर गरे ताकेता गर्नुपर्ने हो, तर लामो समय भयो, यहाँको खाल्डोमा पक्की टालो हाल्न खबर गरेको छैन ।
अहिले गोरखा बजारमा दशैं मेला चलिरहेको छ । मेला भर्न आउनेहरुको भीड चर्कै छ । दशैं नजिकिदै छ त्यसैले किनमेलका लागि बजार आउनेहरुले गोरखा बजार भरिएको छ । यस्तो बेलामा सडकको खाल्डाखुल्डीले निकै नै समस्या बनाएको छ । त्यसैले सडक मर्मत गर्ने निकायलाई यहाँ टालो हाल्न बाध्य बनाउनु पर्छ ।




