| सोमवार, अशोज ४, २०८३

गोरखालाई वन्यजन्तुमैत्री जिल्ला बनाऊ

पहिले जनघनत्व बढिरहेको थियो । त्यसकै सापेक्षतामा जंगल फँडानी गर्ने, जंगल क्षेत्र, सार्वजनिक क्षेत्र अतिक्रमण गर्ने, खेतबारी बिराउने क्रम बढिरहेको थियो । जसले गर्दा जंगल जनावरको बासस्थान मासिँदै गएको थियो । पानीको स्रोत संकटमा पर्न सक्ने सम्भावना पनि थियो ।
तर अहिले समय परिवेश बदलिएको छ । अहिले अधिकांश युवाहरु वैदेशिक रोजगारीका क्रममा बाहिरिने क्रम बढिरहेको छ । जसले गर्दा नेपालका ग्रामीण भूभाग रित्तिँदै गएको छ । अहिले भएका खेतबारी पनि बाँझिएका छन् । उर्वर जमिन पनि बाँझिएका, जंगल बनेका छन् । यसले गर्दा वन्यजन्तुको बासस्थान पनि बढिरहेका छन् । सापेक्षतामा जीव जनावरको पनि संख्या बढिरहेको पाइन्छ ।
अहिलेका मान्छे सभ्य, शिक्षित छन् । उनीहरुमा चेतनास्तर पनि अभिवृद्धि भएको छ । सचेत नागरिकहरुले वन्यजन्तुलाई दुश्मन ठान्ने तथा शिकार गर्ने जस्ता काममा पनि न्यूनिकरण गरेका छन् । कि अबुझले वन्यजन्तु शिकार गर्छन्, कि अति सौखिनहरुले वन्यजन्तुको अवैध शिकार गर्ने गर्छन् । बुझेर गरे पनि नबुझेर गरे पनि अपराध अपराधै सावित हुन्छ । शिकार गर्नेहरु कारबाहीका भागेदार हुन्छन् ।
त्यसैले सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले वन्यजन्तुको संरक्षण गर्न विभिन्न कार्यक्रमहरु तय गरेका छन् । वन्यजन्तुको महत्व, फाइदा, उनीहरुको संरक्षणको आवश्यकता, संरक्षण गर्न अपनाउनु पर्ने विधि, प्रविधि, वन्यजन्तुको शिकार गरेमा हुने बेफाइदा, शिकार गरेमा भोग्नु पर्ने दण्ड सजायँ आदिका बारेमा तालिम, अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।
यस्ता सचेतनामुलक कार्यक्रमहरु अझै धेरै गरेर वन्यजन्तुलाई रिझाउने वातावरण सिजर्ना गर्नुपर्छ । अहिले चुम उपत्यका, सेराङ गुम्बा क्षेत्रतिर जंगली जनावर पनि मान्छेसित नडराई नजिक, नजिक आउने गर्छन् । यस्तो वन्यजन्तुमैत्री वातावरण अन्य क्षेत्रमा पनि बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्