
जे जसरी भएपनि स्थानीय निर्वाचन सम्पन्न
गोरखाको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ भन्नुपर्छ । ३११ मतदानकेन्द्र रहेको यहाँका केही ठाउँ शान्तिपूर्ण र धेरै ठाउँमा तनाबपूर्ण भए पनि समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको ठहर गर्छ ।
कतिपय मतदानकेन्द्रमा प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा केही ढिला मतदान सुरु भए पनि त्यसले उल्लेखनीय अर्थ राखेन । समग्रमा भन्नुपर्दा निर्धारित समयमा सुरु भएर निर्वाचन निर्धारित समयमा सम्पन्न भयो ।
गण्डकी, भीमसेनथापा जस्ता कतिपय गाउँपालिका वा कतिपय वडाहरुमा मुठभेड नभएका होइनन् । बारपाक सुलीकोट ३ स्वाँरा, वडा नं. ४ का रञ्चोक जस्ता कतिपय वडाहरुमा फर्जी मत नखसेका होइनन् । कतिपय केन्द्रमा अनुपश्थित वा मृत्यू भएका मतदाताको भोट पनि बुथ कब्जा गर्नेहरु युवा दस्ताले भोट नहाल्दिएका होइनन् ।
कतिपय मतदान केन्द्रमा वृद्धवृद्धाले सक्दैनन् भन्ने बहानामा युवादस्ताले मतपत्र खोस्दै भोट नहाल्दिएका होइनन् । कैयौँ गाउँबस्तीहरुमा पैसा बाँडेर, रिचार्ज कार्ड, लत्ताकपडा बाँडेर मत खरिद नभएका होइनन् । कतिपय गाउँबस्तीमा भोजभतेर गर्न लागेका ठाउँबाट खसीबोका, कुखुरा, च्यूरा जस्ता सामग्री जफत नभएका होइनन् । पालुंटार १ का वडाअध्यक्षका उम्मेद्वार निर्घात कुटिए झैँ कतिपय ठाउँमा कुटपिटका घटना पनि नभएका होइनन् ।
अवाञ्छित गतिविधि प्रसस्त भएका छन्, तैपनि कहीँकतै सफेद मत पनि खसेका छन् ।
निर्वाचनको दिन शुक्रबार बेलुका अबेरसम्म कुन पालिकामा कति मत खस्यो भन्ने तथ्य अंक पाउन सकिएन । तर सबै पालिकाको खेस्रा आँकलन अनुसार ६० देखि ६५ प्रतिशतसम्म मत खसेको छ । यदि खसेको मतको दर बढेन भने यो सुखद पक्ष होइन । ४० प्रतिशत मतदाताले किन मतदान गरेनन् ? किन मतदाता भोट हाल्न जान उत्साही भएनन् ? यी बिषयको खोजी हुनु जरुरी छ ।




