एसईईको शुल्क फिर्ता गर्ने कि दुरुपयोग गर्ने ?
कोभिड १९ का कारण यसबर्षको एसईईको परीक्षा भएन । सरकारले प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक वा यसअघि लिइएका परीक्षाको नतिजा तथा अन्य विभिन्न मापदण्ड बनाएर अंक दिएर नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
सम्भवतः नतिजा छिट्टै सार्वजनिक हुनेछ ।
तर एसईईका लागि भनेर प्रत्येक विद्यार्थी(परीक्षार्थी)ले निर्धारित शुल्क बुझाइ सकेका छन् ।
सो शुल्कले परीक्षा व्यवस्थापन(उत्तरपुस्तिका, मसी, स्ट्यापल्स, स्ट्याप्लर्स, उत्तरपुस्तिका परीक्षक, संपरीक्षकलाई पारिश्रमिक इत्यादि) का विविध शीर्षकमा खर्च गर्ने गरिन्थ्यो । यसबर्ष परीक्षा भएन । विद्यालयले विभिन्न मापदण्ड बनाएर दिएको अंकलाई आधार बनाएर नतिजा सार्वजनिक गर्ने तयारी छ । यस्तो अबस्थामा विद्यार्थीसंग लिइएको परीक्षा शुल्क फिर्ता हुन्छ कि हुदैन ?
जुन प्रयोजनका लागि शुल्क उठाइएको हो, त्यो प्रयोजनका लागि खर्च नहुने भएपछि सो रकम अन्य शीर्षकमा खर्च गर्नु दुरुपयोग हो ।
दुरुपयोग गर्नुभन्दा गाउँबस्ती, दुर दराजका आर्थिक अबस्था कमजोर भएका बालबालिकाले बुझाएका शुल्क फिर्ता दिनु उचित हुन्छ ।
अहिले देशमा कोरोना व्यप्त छ । कोरोनाले व्यापार, व्यवसाय, कामधन्दा सबै धरासायी भएको अबस्था छ । यस्तो अबस्थामा राज्यले नागरिकलाई विभिन्न राहतका प्याकेज ल्याउनु पर्ने जरुरी छ । उल्टै नागरिकसँग संकलन भएको रकम दुरुपयोग गर्नु अन्यायपूर्ण हुन्छ । त्यसैले सरकारले एसईईका लागि भनेर विद्यार्थीसंग असुल गरेको शुल्क यथाशीघ्र फिर्ताको निर्णय गर्नुपर्छ ।
विभिन्न पार्टी निकट विद्यार्थी संगठनहरुले यस बिषयमा कतै कुनै आवाज बुलन्द गरेको देखिएन, सुनिएन । विद्यार्थीको हितको पक्षमा आवाज उठाउनु विद्यार्थी संगठनहरुको परमकर्तव्य हो । त्यसैले यस बारेमा उनीहरुको ध्यान जानु जरुरी छ ।




