खै कहाँ गर्ने उपचार !
गोरखाको सबैभन्दा ठुलो, जेठो ५० शैयाको गोरखा अस्पतालमा कोरोना संक्रमितका लागि मात्र ६ बेड छ । त्योपनि भरिने, एकदुई बेड खाली हुने भईरहेको छ । कोरोना संक्रमितको संख्या दिनदिनै थपिँदो छ । तर न अस्पतालको बेड थपिएको छ न त अन्यत्र कतै सरोकारवाला निकायले बैकल्पीक उपचारको चाँजोपाँजो मिलाएका छन् ।
पहिलो चरणको कोरोना संक्रमणका बेला गोरखामा स्थानीय तह मिलेर ७० बेड क्षमताको क्वारेन्टिन सहितको आइशोलेसन बनाएका थिए । स्वास्थ्यमा समस्या भएका देखि कोरोना पोजेटिभ देखिएकालाई पनि त्यहाँ राखिन्थ्यो । स्वास्थ्यकर्मी र चिकित्सकको निग्रानीमा उपचार गरिएको थियो । त्यसैले समुदायमा संक्रमण फैलने दर कम थियो । तर अहिले सरकारले पनि होम आइशोलेसन बस्न सक्ने ब्यवस्था गरेको छ । कोरोना संक्रमण दर जति बढेपनि क्वारेन्टिन, र आईशोलेसनको बेड बढेको छैन् ।
पहिलो चरणमा निकै जागरुक देखिएका स्थानीय तह अहिले सुस्ताएका छन् । संक्रमितलाई स्वास्थ्यमा जटिल समस्या नआउँदा सम्म होम आइशोलेसनले धान्न सक्छ । तर राजधानी, नेपाल भारतको सिमा नाका बाँके, बिरगञ्ज जस्ता ठाउँमा झैँ संक्रमितको स्वास्थ्यमा समस्या आएको खण्डमा गोरखाको हालत के होला ! कहाँ राखेर उपचार गर्ने ? गोरखा अस्पतालको सात बेड र आँपपिपलको केही बेडले बिरामी थेग्छ ? दैनिक सयौँ सिलिण्डर ग्याँस चाहियो भने कसरी जोहो हुन्छ ? यो प्रश्नको जवाफ कसैसँग छैन ।
गोरखा अस्पतालमा बेड थप्ने चर्चा चलेको एक साता भयो तर सेवा सुरु भएको छैन । स्थानीय तहहरुले बनाएको कोभिड अस्पतालले गम्भिर खालका संक्रमितलाई उपचार सेवा दिन सक्दैनन् । त्यसैले संक्रमितको दर बढिरहँदा आउन सक्ने जोखिमलाई पनि ध्यान दिँदै तयारीमा स्थानीय सरकार, अस्पतालहरु, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन, जिल्लाका सुरक्षा संयन्त्र सबै जुट्नुपर्ने देखिन्छ । अब पनि पर्खेर बस्दा अन्य जिल्लामा जस्तो उपचार नपाएर मर्नुपर्ने अवस्था अहिले जस्तो काजगी तयारीले मात्र नआउन भन्न सकिन्न ।




