| आइतवार, साउन ३०, २०८३

सिंचाई आयोजना समयमै बनोस्


गोरखा नगरपालिका १३ र गण्डकी गाउँपालिकाको ७, ८ मा सिंचाई आयोजना निर्माण हुँदैछ । कुन्दुरटार पालुङटार सिंचाई आयोजना कार्यालयले लिफ्ट सिंचाई गर्न लागेको हो ।
गोरखामा दरौँदीको पानी तानेर र गण्डकीको दुईवटा वडामा त्रिसुलीको पानीले सुख्खा ठुला फाँटहरु सिंचाई हुँदैछ । एक वर्ष भित्र सिध्याउने गरी ठेक्का भईसकेको छ । हरेक योजनाले २५÷२५ हेक्टर भन्दाबढि जमिन सिंचाई गर्नेछ । सिंचाई सुविधा पुगेको खण्डमा त्यहाँका किसानले कृषि उत्पादन बढाउनेछन् । नजिकको बजारमा बिक्री गर्नेछन् । ब्यवशायीक कृषिका लागि पनि यी ठाउँमा सिंचाई सुविधा अत्यावश्यक छ ।


तर आर्थिक वर्षको दुई महिना बाँकी हुँदा योजना स्विकृत हुनु, ढिला गरी टेण्डर हुनुले आयोजना कहिले सम्पन्न होला भन्ने प्रश्न उब्जाएको छ । सोलारबाट पानी लिफ्ट गरेर सिंचाई गर्ने यो योजना उपभोक्ताका लागि कम खर्चिलो छ । विद्युतबाट लिफ्ट गर्दा महशुल धेरै पर्ने र सोलारबाट गर्दा महशुल नपर्ने भएकाले उपभोक्ताले यो प्रविधि रुचाउँछन् । तर छिटो बिग्रने, प्राविधिक जनशक्तिको अभाव, निर्माणका क्रममा ठेकेदारको हेलचेक्राई जस्ता कारणले भने सोलार लिफ्ट केही ठाउँमा समस्या बनेको देखिन्छ ।


किसानका लागि सरकारले ल्याएका यस्ता योजना प्राथमिकतामा राखेर छिटो सम्पन्न गर्नुपर्छ । यसका लागि संम्बन्धित कार्यालय, निर्माण कम्पनी, उपभोक्ता पनि जागरुक हुनुपर्छ । बेरोजगार युवाहरु, कोरोनाका कारण रोजगारी गुमाएर गाउँ फर्किएकाहरु सिंचाई सुविधा पुगे सँगै गाउँमै कृषि पेशा गरेर गुजारा चलाउन सक्छन् । त्यसैले गोरखामा निर्माण हुन लागेको सिंचाईका यी योजना छिटो सम्पन्न गर्न सके किसानी तर्फ युवाहरुलाई उद्यमी बनाउन प्रेरणा मिल्ने थियो कि ।

प्रतिक्रिया दिनुहोस्