| मङ्लबार, साउन ११, २०८३

बलात्कारको घटनामा अधिकारकर्मीहरु मौनता साँध्दै


जिल्लामा दिनहूँजसो भइरहेको बलात्कारका घटनामा अधिकारकर्मीहरु मौनता साँध्दै छन् । बलात्कारबाट गर्भ रहेकी १४ बर्षकी बालिका सुत्केरी हुने समय ‘भरेभोलि’ भएको छ । उनका बुबाआमा ‘हामीले न्याय पाएनौँ’ भन्दै भौतारिँदै हिडिरहेका छन् ।


यही सन्दर्भमा केहीदिनअघि चार बर्षकी बालिका बलात्कृत भएकी छिन् । फेरि अर्को, फेरि अर्को बलात्कारको श्रृङ्लावद्ध घटना भइरहेका छन् । माघ २० देखि २५ गतेसम्मको पाँच दिनको अवधिमा तीनवटा यस्ता घटना प्रहरीसमक्ष आएका छन् ।
तर गोरखाका अधिकारकर्मीहरु मौन छन् । उनीहरु सुदूर पूर्व, सुदूर पश्चिममा घटेका घटनाको विरोधमा केन्द्रबाट इमेलमा आउने विज्ञप्ति पर्खेर बसेका छन् । केन्द्रबाट निर्देशित कार्यक्रम तालिका हेरेर बसेका छन् ।


यसको अर्थ यो होइन कि, टाढाको घटनालाई नजरअन्दाज गर्नुपर्छ । देश, विदेश जहाँतहीँको हत्या, बलात्कारका घटना खेदजनक हुन्छन् । सबैको विरोध गर्नु अधिकारकर्मीहरुको धर्म हो । तर आफ्नै नाकैमुनि घटेका घटनालाई नजरअन्दाज गर्नुचाहिँ अधिकारकर्मीको धर्म होइन । यसमा ‘माथिको आदेश’ कुर्नु भन्दा स्वस्फूर्त जाग्नु वुद्धिमानी हुन्छ ।


अधिकारकर्मी कार्यकर्ता तथा कर्मचारी होइनन् कि केन्द्रबाट जे जे निर्देशन आयो, त्यही त्यही मात्र गर्ने । उनीहरुमा स्वशक्ति हुन्छ । उनीहरुमा विवेक हुन्छ, विकेक प्रयोग गर्ने सामथ्र्य हुन्छ ।
गोरखाको पनि पछिल्ला केही घटना हेर्दा आरोपी फरार छन् । फरार आरोपी पक्राउ गर्न दबाब दिनु, यस्ता घटना न्यूनिकरणका लागि अभियान सञ्चालन गर्नु अधिकारकर्मीको प्राथमिकतामा पर्नुपर्छ । विरोध मात्र समस्या समाधानको कडी होइन । अन्य रचनात्मक कार्यक्रम, प्रशिक्षण, अभियान आदिले पनि यस्ता दुर्घटना न्यूनिकरण गर्न मद्दत पुग्छ । त्यसैले त्यस्ता कार्यक्रम गर्नमा जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्