आफ्नो ठाउँमा भइरहेको विकास निर्माणको रेखदेख गरौं
अहिले धमाधम विभिन्न ठाउँमा विकास निर्माणका काम भइरहेका छन् । कतै सडक कालोपत्रे, कतै भवन निर्माण, कतै पुल, कतै सिँचाइ आदिआदि ।
आरुघाट सडक ७० प्रतिशत भन्दा धेरै कालोपत्रे भएको छ । भच्चेक सडकको कालोपत्रे प्राय सम्पन्न भएको छ ।
अहिले अँबुवा सेरा सडक बारकिलो छेपेटार सडक कालोपत्रे भइरहेको छ । पछिल्ला दिनमा भएका कालोपत्रेको गुणस्तर ज्यादै कमजोर हुने गरेको पाइन्छ । हामी कालोपत्रे भएको मात्र देखेर दंग हुन्छौं, तर यसको गुणस्तरको बारेमा ख्याल गरेका हुदैनौं, जसले गर्दा एक महिना पनि नपुग्दै कालोपत्रे उप्किन थाल्छ । गोरखा आरुघाट सडकको कालोपत्रे पनि अहिल्यै उप्किन थालेको छ ।
बिभिन्न घुम्तीहरुमा कालोपत्रे उप्किएर खाल्डो पर्न थालिसकेको छ । गुणस्तरहीन कालोपत्रे गरेकाले नै यस्तो भएको हो । यस्ता कामले हाम्रो खुशीलाई क्षणभरमै खाल्डोमा गाड्छ । सडकको मात्र होइन, हाम्रो क्षेत्रमा जे काम भइरहेका छन्, ती सबैको गुणस्तरको ख्याल गर्नुपर्छ ।
सम्बन्धित विकास निर्माणको काम हाम्रै लागि हो त्यसैले त्यसलाई टिकिराख्ने गरी पक्की संरचना निर्माणका लागि सचेत नागरिकको जागरुताको खाँचो छ । सबैको लागि हो, म मात्र किन तात्ने भन्ने सोचाइले हाम्रो गाउँठाउँमा बनेका विकासका काम कच्ची हुनेछन्, जसले गर्दा केही क्षणमै फेरि पुरानै समस्या ब्यहोर्नुपर्ने हुनसक्छ ।
त्यसैले आफ्नो गाउँठाउँको कामप्रति चनाखो भै यसको गुणस्तरको बारेमा चासो राख्नुपर्छ । गुणस्तरहीन काम हुनबाट रोक्नुपर्छ ।




