नगर बससेवाले यात्रुको माग अनुसार निरन्तरता पाओस्
गोरखा नगरपालिकाभित्र बिहिबारदेखि नगरबस सेवा सुरु भएको छ । लामो समयको अपेक्षापछि नगरपालिकाभित्र नगरबस सेवा सुरु गरिएको हो ।
नगरबस सेवा सुरु भएपछि प्राय सबै सर्वसाधारणले खुशी व्यक्त गरेका छन् । नगरबस सेवा चल्नु धेरै राम्रो कुरा भएको भन्दै उनीहरुले यसको दीगोपनको कामना पनि गरेका छन् ।
जुनसुकै कुरा पनि सुरु हुनु जति महत्वपूर्ण छ, दीगो हुनु पनि त्यति नै महत्वपूर्ण हुन्छ । नयाँ कामको थालनी हुने, केही समय चल्ने अनि बन्द हुने परम्परा छ । नगरबस सेवा सुरु भएको छ, यसले निरन्तरता पाओस् । यसअघि नगरपालिकाका बिभिन्न ठाउँमा जानु परेमा ट्याक्सी सेवा लिनुपर्ने बाध्यता थियो । ट्याक्सी सेवा स्वभाविक रुपमा सीघ्र र महंगो पनि थियो । नगरबस केही ढिला भएपनि भाडा भने मनासिब छ ।
गोरखा नगरपालिकाको आग्रह र अनुमतिमा पृथ्वी राजमार्ग बस सञ्चालन प्रालिले नगर बससेवा सञ्चालन गरेको हो । तर यसमा केही पक्षले बिथोल्ने षड्यन्त्र गरेको महसुस भएको छ । एउटा प्रालिले मात्र नगरबससेवा सञ्चालन गर्दा असर पर्ने चिन्ताले केही प्रालिहरु अतालिएका छन् ।
यसको सफलता र असफलताको परिणाम हेरी अरु प्रालिले पनि नगरबस सेवा सुरु गर्नु उनीहरुको स्वतन्त्रता हो ।
कुनै स्थानीय तहभित्र यातायात सेवा सुरु गर्न सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने ब्यबस्था छ । त्यसैले इच्छुक प्रालिले सेवा सञ्चालन गर्नकालागि नगरपालिका कार्यालयसंग अनुमति लिनुपर्छ । अनुमति लिएर यातायात सेवा प्रबाह गर्नुपर्छ, नकि बिरोध र बिथोल्ने प्रपञ्च । यात्रुको माग अनुसार नगरबस सेवालाई निरन्तरता दिनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग, सद्भाव र समर्थन गरौं ।




