| आइतवार, कार्तिक २२, २०८३

यस्ता कामले जनप्रतिनिधिप्रति आस्था जगाउँछ

कतिपय कामले अहिले जनप्रतिनिधि आलोचित छन् । ठेक्कापट्टा, तस्करसंगको बसाउठी, डोजर, ट्रिपरमा लगानी, भ्रष्टाचार, व्यभिचार जस्ता कामले अहिले कतिपय जनप्रतिनिधि आलोचित भइरहेका छन् । उनीहरुसँग साइनो जोडेर इमान्दार जनप्रतिनिधिलाई पनि बद्नाम गराउने प्रयास यदाकदा हुने गरेको छ ।

कतिपय जनप्रतिनिधिले यस्तो काम गरेका छन्, जसले जनमानसमा प्रसस्तै वाहवाही पाएको छ । त्यसका लागि उनीहरुले कडा मिहिनेत गरी सिर्जनात्मक, रचनात्मक योजना बनाउन सक्नुपर्छ । सकिन्छ, आफैले यस्ता योजना तर्जुमा गर्ने बारेमा सोच्ने, नसके शुभचिन्तक, विज्ञहरुसँगको परामर्श लिएर योजना गर्ने ।

यसको एउटा उदाहरण हो, गण्डकी गाउँपालिकाले ल्याएको छात्रवृत्तिको कार्यक्रम । चेपाङ, माझी, दराई, बोटे जस्ता समुदायको बसोबास भएको त्यस भेगमा सो समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षाका लागि छात्रवृत्ति दिने कार्यक्रम गाउँपालिकाले अघि सारेको छ । यो ज्यादै प्रसंसनीय छ ।

सुरुको बर्षमा चारजनालाई छात्रवृत्ति दिने घोषणा गरेको छ । त्यसलाई बढाएर कम्तिमा पनि १० जनालाई प्राविधिक शिक्षाका लागि छात्रवृत्ति दिने गर्नुपर्छ । यस्तो कामले गर्दा उनीहरुको ब्यक्तिगत फाइदा मात्र होइन, गाउँपालिकालाई नै वा समुदायलाई नै फाइदा हुनेछ । त्यसैले राम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गर्नुहुदैन ।

प्रतिक्रिया दिनुहोस्