अब धमाधम ग्रामीण सडक मर्मत गरिनुपर्छ
यो महिनाको दोस्रो सातादेखि हिन्दू नेपालीहरुको महान पर्व दशैँ, तिहार सुरु हुदैछ । यो बेला कामका लागि सहर तथा विदेश गएकाहरु धमाधम गाउँघर फर्किनेछन् । त्यतिमात्र होइन, यो बेला दैनिक उपभोग्य सामान धमाधम गाउँका पसलहरुमा ढुवानी गर्ने बेला समेत हो । त्यसैले यो बेला ग्रामीण सडक मर्मत गर्नुपर्छ ।
यो बर्खामा खासै ठूलो बर्षात भएन । जसले गर्दा बाटो त्यति धेरै बिग्रिएन तर जब असोज लाग्यो, लगातार बर्षात भयो । जसले गर्दा ग्रामीण सडक बिग्रियो । ग्राभेल समेत नगरिएका कच्ची बाटोको संख्या गोरखामा धेरै नै छन् । बर्षातका कारण ती सडकहरु जीर्ण भए । गाडी चल्न नसक्ने भए । ग्राभेल भएका सडक पनि भत्किए । सडक माथिबाट खसेको पहिरोले सडक अबरुद्ध भयो, कतै सडक नै पहिरिएर अबरुद्ध भए । ती सडकहरु अब धमाधम मर्मत हुनुपर्छ ।
त्यसो त चाडबाड नजिकिएकै कारण सडक मर्मत हुनुपर्छ भन्न खोजिएको होइन, मर्मत नियमित गर्नुपर्छ । तथापि अब झरी बिस्तारै कम हुदै जाने संकेत छ । अब सफाइ गर्दा फेरि बिग्रिने सम्भावना कम छ । त्यसैले अब सडक मर्मतसम्भार गर्दा उचित हुने देखिन्छ ।
३० बर्षअघि निर्माण भएका सडकहरु अहिलेसम्म पनि कच्ची अबस्थामै छन् । यो दुखद पक्ष हो । आरुघाट सडक निर्माण आरम्भ गरिएको ३० बर्ष नाघेको छ तर अहिलेसम्म पनि कच्ची नै छ । आधाआधी सडक पिच र पिचको तयारीमा छ, तर आधाआधी सडकको अवस्था अझै ३० बर्ष अघिकै अबस्थामा छ ।
त्यसैले ती सडक अब पक्की गरिनुपर्छ भन्ने सार्वजनिक आग्रह त छँदैछ, तत्कालका लागि मर्मत सम्भार पनि तत्काल होओस् भने आम चाहना छ ।




