| शनिबार, बैशाख ८, २०८१

प्रहरीलाई बेलैमा सूचना दिनुपर्छ

गोरखाका दुई बिभत्स हत्याकाण्डको रहस्य हालै सार्वजनिक भएको छ । मानसिक रोगले ग्रस्त भएर हिंस्रक बनेका याकुब परियारले पाँच दिनअघि मनकामना बहिरा माध्यमिक विद्यालयका कार्यालय सहयोगी श्यामहरि घिमिरेको हत्या गरेर फेरि घरमै आफ्नै काखमा सुतिरहेकी श्रीमतीको पनि हत्या गरेको दर्दनाक घटना सार्वजनिक भएको हो ।

लागु औषधको चरम प्रयोगले उनी अहिले मानसिक रोगी हुन् । पुनस्थापना केन्द्रमा रहेर घर आएका तर एक महिनादेखि औषधी खान छोडेका कारण उनको अबस्था जर्जर हुदै गएको प्रहरी बताउँछ । यस्तो मानसिकताले ग्रस्त परियारले पाँच दिनको अन्तरालमा दुई जनाको हत्या गरे । उनी पक्राउ नपरेका भए अरु कोकोले ज्यान गुमाउनु पर्ने थियो । आफ्नो सन्तानले लागु औषध प्रयोग गर्छ कि गर्दैन भन्ने बारे अभिभावक चनाखो हुनुपर्छ । यदि प्रयोग गर्छ भने उनले आफूलाई त अकालमै मार्छ, मार्छ, अरुलाई पनि मार्छ । त्यसैले उनीहरुलाई बेलैमा लागुऔषधबाट छुटाउनु पहिलो दायित्व हो ।

यदि आफ्नो सन्तान नियन्त्रणबाहिर छ भने यसको अबस्था बारे चिकित्सक, प्रहरीहरु समक्ष जानकारी गराउनु पर्छ, ताकि कुनै दिन उसकै लागि वा अन्यका लागि घातक नबनोस् । छरछिमेकमा लागु औषध प्रयोगकर्ता छन् भने पनि प्रहरीमा गोप्य सूचना दिनुपर्छ । ताकि समाजमा यस्ता अप्रिय मानवीय क्षति नहोओस् ।समाजमा घटना घट्यो भने बिरोधको आवाज उठाउने, नारा जुलुस गर्ने, सडकमा आगो बाल्ने मात्र नभै समाधान कसरी गर्न सकिन्छ भन्ने बारे प्रहरीमा सुक्ष्म सूचना आदानप्रदान हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्