| मङ्लबार, भदौ १, २०८३

आन्दोलनमा हुनसक्ने घुसपैठबाट सावधान

 

अहिले मनकामना बहिरा माध्यमिक विद्यालयको तनाबले गोरखाको वातावरण तताएको छ । विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको छ दिनदेखिको शव शवगृहमै छाडेर आफन्तजनहरु आन्दोलनमा छन् ।

घिमिरेको मृत्यू भएको छ दिन बितिसकेको छ । तर अहिलेसम्म मृत्यू भएको हो वा हत्या भएको एकिन भएको छैन । प्रहरीले सातजना पक्राउ गरेर राखेको छ । तर दोभासेको अभाव देखाउँदै घटना अनुसन्धानको प्रगति देखाउन सकेको छैन ।

न प्रहरीले दोषी पत्ता लगाउन सकेको छ्, न त आफन्तले मृतकको शव बुझेका छन् । स्थानीयबासीले सो विद्यालयमा ताला लगाएका छन् । दिनहूँ चक्काजाम गरिरहेका छन् । विद्यालयका सयौं विद्यार्थीको पठनपाठन अन्यौलमा छ । आइतबारदेखि सुरु हुने परीक्षा पनि अन्यौलमै छ । प्रहरी र प्रशासनले मृतकका आफन्तलाई नियमित सम्पर्कमा रहेर घटनाको अनुसन्धानको प्रगति बारे अपडेट गराउने, मैत्री व्यवहार गर्ने गर्दा वातावरण गरम हुदैन ।

त्यस्तै मृतकका आफन्तले पनि मृतकको शवलाई बुझेर अन्त्यष्टी गरी परम्परागत कर्म सुरु गर्दा वुद्धिमानी हुनेछ । शव कुहाएर त्यसको नकारात्मक असर उनीहरु आफैलाई नै हुनेछ । आन्दोलन लम्बिँदै जाँदा बिभिन्न पक्षको घुसपैठ हुने सम्भावना उत्तिकै छ । घुसपैठले न स्थानीयबासीलाई लाभ हुन्छ, न प्रहरी, प्रशासनलाई ।

तसर्थ यसलाई नलम्ब्याउने वातावरण दुवै पक्षले सिर्जना गर्नुपर्छ । अहिले बिभिन्न राजनीतिक पार्टी र नेताहरु आन्दोलनलाई लम्ब्याउने र टुङ्ग्याउने, मोड्ने प्रयासमा चलखेल गर्न थालेको दृश्य पनि देखिन्छ । यही आन्दोलनबाट बिभिन्न स्वार्थ पूर्ति गराउने खेलमा लागेको पनि देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्