| सोमवार, भदौ १, २०८३

धनकमलहरु कहिले पत्ता लाग्छन् ?

 

गत असार ११ गते राती १० बजे खच्चड धपाउँदै माछाखोलातिर आइरहेका यारुबगरका धनकमल गुरुङमाथि आक्रमण भयो ।

त्यसपछि धनकमल पनि बेपत्ता भए, आक्रमणकारी पनि बेपत्ता भए । जम्माजम्मी १० जनामध्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ, सातजना अहिलेसम्म फरार छन् । आक्रमण किन भयो ? उनीसंग के थियो, त्यस्तो जसलाई अरुले झम्टिएका थिए ? यसको बिभिन्न अनुमान भएका छन् । उत्तरी नाकाबाट अबैध रुपमा आएको कुनै अबैध बस्तु हुनसक्ने अनुमान जो कोहीले गरिरहेका छन् । जसको रहस्य खुल्ने डरले सबै फरार भए ।

यसको खोजी भन्सार बिभागले गर्नुपर्छ । चुमनुब्री गाउँपालिका ३ को जगत बजारमा भन्सार कार्यालय छ, तर त्यहाँ कर्मचारी नहुँदा सीमाबाट बिभिन्न अबैध सामान निकासी, पैठारी भइरहेका छन् ।

भन्सार बिभागमा गुनासो गर्दा नचलेको भन्सार भएकाले कर्मचारी नराखेको, नचलाएको भन्ने गर्छ । भन्सार कार्यालय नभएको मौका पारी अबैध सुन, चिरु, अखेटोपहार जस्ता सामान ओसारपसार भइरहेको घटना यसअघि पनि सार्बजनिक भइरहेका छन् । यति हुँदा पनि भन्सार बिभागको घैटामा काम लागेको छैन । रसुवागडी नाका मात्र चलेको भन्दै त्यता मात्र ध्यान दिएको छ ।

प्रहरीले इन्स्पेक्टरको नेतृत्वको टोली परिचालन गरेको पनि धेरै भयो, तर अहिलेसम्म कुनै सम्भावनाको नजिक पुगेको पनि छैन । ठूला पहाड, खोच, बर्खाको भेल बाढी बर्षाका कारण उनीहरुको खोजी कार्यमा कठिनाइ भइरहेको उसको भनाइ छ । समस्या जे जस्ता भए पनि अवैध काम गर्नेहरु चाँडै पक्राउ पर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्