| सोमवार, भदौ १, २०८३

लालबहादुरको कला संरक्षण गरौं

२०२२ सालमा रेडियो नेपालमा जागिर खाएका लालबहादुर गन्धर्वसंग गहन कला छन् । धेरै कर्खाहरु उनी गाउँछन् । प्राचीनत्तम डाँफे र मुरलीको कर्खा उनी गाउँछन् ।

त्यस्तै बिबाह गर्दा कन्या माग्ने, अन्माउने गीत पनि उनी गाउँछन् । पृथ्वीनारायण शाहको एकीकरण सम्बन्धी कर्खा, तेञ्जिङ शेर्पाले सगरमाथा चढेको कर्खा, कुमालेको कर्खा, अल्छीको कर्खा, भूमिसुधारको कर्खा उनी गाउँछन् ।

राजा महेन्द्रको प्रिय पात्र, जनकविकेशरी धर्मराज थापा, झलकमान गन्धर्व, अमृत गुरुङको संगतमा रहेका ७५ बर्षका उनी घ्याम्पेशालको एउटा कुनामा बसेर जीवन बिताइ रहेका छन् । उनीसंग भएको अथाह सीप, कला, प्रतिभा अहिले उनको बुढ्यौलीसंग मक्किदै गएको छ ।
त्यसको जगेर्ना गर्न जरुरी छ । त्यसको संरक्षण गर्न जरुरी छ ।

उनको कर्खाहरु रेकर्ड पनि गरिएको थियो । जापानी लगानीमा रेकर्ड गरिएको भए पनि उनीसंग जम्मा एउटा मात्र सुरक्षित छ ।

आधुनिक प्रविधिको प्रयोग गरी व्यक्तिगत रुपमा वा संस्थागत रुपमा, सरकारी निकाय वा अन्य पहलमा उनको कला संरक्षण गर्नु जरुरी छ ।
आफ्नो गाउँपालिकाभित्रको कलाको प्रवद्र्धन गर्नु स्थानीय सरकारको पनि दायित्व हो । त्यसैले धेरथोर लगानी गरी उनीसंग भएका सबै कर्खाहरु भिडियो रेकर्ड गरी सुरक्षित गर्नु उचित हुन्छ । अहिलेको पिडीमा कर्खा गाउनेहरु छैनन् ।

सारंगी बजाएर माग्दै हिड्नेहरु कतिपय होलान्, तर उनीहर आफ्नै प्रतिभा नभएर देखासिकी गरेको कला छ । तर लालबहादुरसंग उनको आफ्नै कला छ । सोको संरक्षण गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्