
सूचना लुकाउने कुचेष्टा नगरौं
यदि कार्यालयले कुनै पनि बद्नियत राखेको छैन भने कुनै पनि सरकारी कार्यालयले सेवा प्रबाहसम्बन्धी सूचना तथा जानकारी सर्वसाधारण सेवाग्राहीलाई सक्दो धेरै दिनुपर्छ । सूचना पाटीमा टाँस गरेर सूचना दिनुपर्छ । एफएम रेडियो, पत्रपत्रिका मार्फत प्रकाशन, प्रशारण गरेर सूचना दिनुपर्छ । सर्वसाधारण माग गर्न आए भने झन मुस्कानसहित सूचना दिनुपर्छ ।
तर गोरखाको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र यस विपरीत सूचना माग गर्दा आनाकानी गरेको छ । परिचयपत्र माग गर्ने, निवेदन माग गर्ने जस्ता झञ्झटिला प्रावधान खडा गर्ने गरेको छ ।
पत्रकार स्वयंले परिचयपत्र देखाएर सूचना माग्दा समेत आनाकानी गर्ने, निवेदन माग गर्ने, अपूरो सूचना दिने जस्ता काम गरेको हो । यसबाट सो कार्यालयमा परिचयपत्र नभएका सर्वसाधारणलाई सूचना माग गर्न कति कठिन रहेछ भन्ने प्रतिविम्बित हुन्छ ।
लोकतान्त्रिक गणतन्त्रको राज्य व्यबस्थामा पनि सो कार्यालयका प्रमुखले लोकतान्त्रिक ब्यबहार गर्न नसकेको देखिन्छ । पारदर्शी व्यवहार प्रदर्शन गर्न आनाकानी गर्नु बद्नियत प्रशासनको आधार हो ।




