| मङ्लबार, भदौ १, २०८३

नेकपा र काँग्रेसबाट देशले अग्रगमन हाँसिल गर्न सक्दैन : डा भट्टराई

पोखरा – समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट देशले अग्रगमन हाँसिल गर्न नसक्ने बताएका छन् । सोमबार तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालको गण्डकी प्रदेश समिति समायोजन घोषणा कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।

‘पुराना थोत्रा भई सकेका कांग्रेस र नेकपा डबल नामका पार्टीबाट देशले अग्रगमन हाँसिल गर्न सक्दैन,’ उनले भने, ‘यो देशका नयाँ समस्या, नयाँ करिकुलम सुशासन कायम गर्नेदेखि देशलाई दिगो विकासको दिशातर्फ अघि लैजानको लागि पुराना पार्टीको काम छैन भनेर नै हामीले समाजवादी पार्टी गठन गरेका हौं ।’ आफूहरुको पार्टी एकता एकताबद्ध मात्र नभई रुपान्तरण सहितको एकता भएको उनले दाबी गरे ।

लोकतन्त्र, प्रगति, अग्रगमन, समाजवाद, संघीयता, समावेशिता, धर्मनिरपेक्षता लगायतका मान्यतामा प्रतिबद्ध सम्पूर्ण जनतालाई सङ्गठित गरेर देशलाई आगामी ५० वर्षमा नेतृत्व गरिे विश्व सामु नेपाललाई समुन्नत संघीय समाजवादी दिशामा लिएर जान सक्ने शक्तिको आवश्यकता रहेको उनले औंँल्याए ।

‘त्यसलाई अघि बढाउनका लागि हाम्रो एकताको प्रस्थान बिन्दु मात्र हो,’ उनले भने, ‘यो सुरुआत मात्र हो, अन्त्य होइन । आगामी दिनमा विचार मिल्ने शक्तिसँग पनि हाम्रो एकिकरण हुँदै जान्छ ।’ कांग्रेस र नेकपाभित्र पिल्सिएर रहेका उत्पिडित समुदाय र वर्गलाई समेत समावेश गरी देशको प्रमुख शक्तिको रुपमा स्थापित गर्ने आफूँहरुको लक्ष रहेको उनले बताए ।

पुराना शक्तिहरुले नयाँ शक्तिलाई कहिले पनि नरुचाउने उनले धारणा राखे । ‘पुराना शक्तिले नयाँ शक्तिलाई कहिले पनि रुचाउँदैनन्,’ उनले भने, ‘त्यसकारण विकास जहिले पनि पुराना गतिविधि विरुद्ध संघर्ष गरेर, विस्थापित गरेर मात्रै हुन्छ ।’ सुरुआतको बेलादेखि नै पुराना शक्तिको विकासको विरुद्ध भ्रम फैलाउँदै आएको उनले सुनाए ।

पु्राना शक्तिहरुले वडा वडामा आफूहरुको एकताको विरुद्धमा दुष्प्रचार गरेको भन्दै उनले आक्रोश पोखे । ‘अस्ति मात्रै म गोरखामा गएको थिए,’ उनले भने, ‘त्यहाँ पुराना शक्तिहरुले के दुष्प्रचार गरेछन् भने बाबुराम त पुरै मधेशमा गएर विलिन भयो । मधेशी बनि सक्यो भन्ने ढंगको प्रचार गरेछन् ।’

पिता पुर्खाले संघर्ष गरेर निर्माण गरेको सार्वभौम सत्ता सम्पन्न हिमाल, पहाड र मधेश नमिल्नुको कुनै तुक नरहेको उनले प्रस्ट्याए । आफूहरुको पार्टी सच्चा राष्ट्रिय पार्टी भएको समेत उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्