आवधिक योजना त्यस्तो बनोस्, नयाँ जनप्रतिनिधिले पनि कार्यान्वयन गरुन्
काङ्ग्रेस नेतृत्वको सरकारले गरिबसंग विश्वेश्वर कार्यक्रम ल्यायो । समयक्रममा एमाले नेतृत्वको सरकार बन्यो । सो कार्यक्रम स्वभाविक रुपमा ओझेल प¥यो । उसले आफ्नै नेताको नामबाट नयाँ कार्यक्रम ल्यायो । उसको नेतृत्वको सरकार विदा भएपछि सो कार्यक्रम पनि ओझेलमा प¥यो । लाखौं, करोडौं खर्च गरेर तयार गरेको कार्यक्रम व्यर्थ भए । सो कार्यक्रममा नियुक्ति गरिएका कर्मचारीहरु पनि बिना काम तलब खाने जस्ता समस्या सिर्जना भयो । कसैका जागिर गए इत्यादि ।
अहिले धमाधम गाउँपालिकालेहरुले पञ्चबर्षीय आवधिक योजना बनाइ रहेका छन् । लाखौं खर्च गरेर, महिनौं लगाएर आवधिक योजना बनाइ रहेका छन् । प्राप्त जानकारी अनुसार धार्चे, चुमनुब्री, अजीरकोट र बारपाक सुलीकोट गाउँपालिकाले आवधिक योजना तयार गरिरहेका छन् । उनीहरुले असार १० गतेभित्रै सो योजना पुस्तकाकार रुपमा बाहिर ल्याउने छन् । चारवटै स्थानीय तहले बिभिन्न नारा, बिभिन्न नारा, लक्ष्य तय गरेका छन् । पर्यटन प्रवद्र्धन, आधुनिक कृषि प्रणाली सबै गाउँपालिकाको प्रस्तावित आवधिक योजनाको प्राथमिकतामा परेको छ । शिक्षा, स्वास्थ्य, जडिबुटी आदि पनि सामान्यतया सबैको योजनामा परेका छन् ।
लाखौं खर्च गरेर बनाएको योजना कम्तीमा पाँचबर्षसम्म कार्यान्वयन गर्न सकिने खालको हुनुपर्छ । यो जनप्रतिनिधिको दुईबर्षे कार्यकाल बितिसकेको छ । अब उनीहरुका लागि बाँकी तीनबर्ष काम गर्ने अवधि छ । त्यसपछि उनीहरु नै आउन पनि सक्छन्, अरु आउन पनि सक्छन् । त्यतिबेला फरक पार्टीका जनप्रतिनिधिले पनि कार्यान्वयन गर्ने खालको कार्यक्रम आवधिक योजनामा ल्याउनु पर्छ ।




