प्राधिकरण, केन्द्रीय र स्थानीय सरकारको सहकार्यबाट विद्युत सेवाको गुणस्तर वृद्धि होओस्
विद्युत प्राधिकरणले अहिले भौतिक पूर्वाधार निर्माणमा धेरै लगानी गरेको छ । गोरखा सदरमुकामको सबस्टेशनमा क्षमतावृद्धि गरेको छ । हालै पालुङ्टार नगरपालिकामा पनि सबस्टेशन निर्माण सम्पन्न गरेको छ । घ्याम्पेशालमा पनि सबस्टेशन निर्माणको ५० प्रतिशत काम अघि बढिसकेको छ । जौबारीमा पनि जग्गा तयार गर्ने काम भएको छ ।
सदरमुकामभित्र इन्सुलेटिङ तारबाट विद्युतको टूान्समिसन लाइन विस्तार गरेको छ । धेरै ठाउँमा काठेपोल बिस्थापन गरी मेटल पोल राखिएको छ । पूर्वाधार सुधार गर्नु धेरै प्रसंसनीय कार्य हो । पूर्वाधारको काम सम्पन्न भएपछि नै गुणस्तरीय सेवा प्रबाह हुन्छ भन्ने विश्वास गरिएको छ ।
यति हुँदाहुदै पनि प्राधिकरणले सुधार गर्नुपर्ने धेरै कुरा छन् । सबस्टेशनको गुणस्तर वृद्धि गरेपछि झ्यापझ्याप बत्ती जाँदैन भन्ने विश्वास थियो तर अहिले गोरखा बजारबासीले झ्यापझ्याप लाइन जाने समस्या झेलिरहनु परेको छ । किन यस्तो भएको ? यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? सोका लागि प्राधिकरणले बेलैमा योजना बनाउनु पर्छ ।
काठेपोल हटाएर धातुको पोल राख्ने प्रसंसनीय सुरुवात भएको हो तर कामले तिब्रता पाउन सकेको छैन । केहीबर्षअघि तत्कालीन स्थानीय विकास मन्त्री हितराज पाण्डेले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम शीर्षकको बजेट काठेपोल विस्थापन कार्यक्रमका लागि खर्च गरेका थिए । यसैलाई आधार बनाएर विद्युत प्राधिरणले स्थानीय तहसंगसमेत सहकार्य गरी विद्युतको पोल सुदृढीकरण गर्नुपर्छ । केन्द्रको बजेट, प्राधिकरणको आफ्नै बजेट र स्थानीय सरकारको बजेटबाट विद्युतको गुणस्तर सुधारको काम गर्नुपर्छ ।




