| आइतवार, कार्तिक २२, २०८३

केराबारी स्कूलमा रकम अनियमितता बारे खोजतलास गर

सिरानचोक गाउँपालिका वडा नं. १ केराबारीको नेपाली माविमा गत आर्थिकबर्ष २०७२, ०७३ मा विद्यालय मर्मत गर्न दिइएको रकम अनियमितता भएको छ । १६ लाख १० हजार रुपियाँ तत्कालीन शिक्षा कार्यालयबाट प्रदान गरिएको थियो तर विद्यालयले भवन मर्मत नगरी ह्वाइट सिमेण्ट पोतेर बचेको रकम विद्यालय चलाउन भनेर राखेको छ ।

एउटा शीर्षकमा आएको रकम ५० प्रतिशत भन्दा धेरै अनियमितता हुँदा पनि बिल पास गरिदिने प्राविधिकको नियत कस्तो रहेछ भनेर सबैले स्पष्ट थाहा पाए । जनश्रम गरेर रकम बचाउने, बचेको रकमले विद्यालय चलाउने अपवादमा हुनसक्छ तर खुलेआम काम नगरी रकम बचाउने अनि विद्यालय चलाउन रकम बचाएको भनेर दिइने अभिव्यक्ति कानूनतः दण्डनीय छ ।

स्थानीयबासीका अनुसार त्यहाँ करिब चार लाख रुपैया मात्र खर्च भएको छ । तर प्रअ शिवकुमार शाह सात लाख खर्च भएको बताउँछन् । यही बीचको रकमको अबस्था के हो ? खोजको बिषय छ ।

फिल्ड कर्मचारीले बिल पास गर्ने, त्यही अनुसार शिक्षा कार्यालयबाट पनि अघि बढाइदिने, महालेखाले पनि पास गरिदिने भएपछि कागजको घोँडा चढेर हिड्न सक्ने जताततै पाइन्छन् । यस्तो अभ्यास सुरु भयो र कारबाही भएन भने यस्तो प्रवृत्ति दोहोरिन सक्छ । त्यसैले नराम्रो प्रवृत्तिलाई जरोमै निमोठ्नु पर्छ ।अर्थात अरुलाई यसमा अघि बढ्न दिनु हुदैन ।

समस्याको आधार बढ्यो भने नियन्त्रण गर्न कठिन हुन्छ । त्यसैले सम्बन्धित निकायले सो विद्यालयमा भएको आर्थिक अनियमितता बारे बेलैमा अध्ययन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्