| बुधबार, भदौ २, २०८३

पूर्ण सरसफाई अभियानमा जोड दिऔं

 

यतिबेला देशभर राष्टिूय सरसफाई सप्ताह मनाइँदै छ । जेठ २२ गतेबाट शुरु भएको २० औं सरसफाई सप्ताह जेठ २८ गते सकिन्छ । यो वर्ष ‘संघ, प्रदेश र स्थानीय सरकारःपूर्ण सरसफाई समृद्धिको आधार’ भन्ने नारा तय गरिएको छ । स्वास्थ्य, प्रतिष्ठा र विकासका लागि सरसफाईमा जोड दिने गरिन्छ । तर सरसफाईको क्षेत्रलाई स्थानीय सरकारले प्राथमिकतामा नपारेको उनीहरुले गत वर्ष विनियोजन गरेको वजेटको आकारबाट पनि प्रष्ट हुन्छ । एक समय गोरखामा पनि अन्य जिल्ला जस्तै खुल्ला दिशामुक्त घोषणाको लहरै चल्यो । फलस्वरुप देशकै १९ औं जिल्लाको रुपमा गोरखालाई खुल्ला दिशामुक्त घोषणा गरियो । त्यतिबेलै पनि जिल्लालाई अब पूर्ण सरसफाईयुक्त बनाउनुपर्छ भनेर सरोकारवालाहरुले प्रतिवद्धता जनाए । यही विचमा देशको शासन ब्यवस्था फेरियो । देशमा तीन तहका सरकारको अभ्यास शुरु भयो । तर हामीले पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने हाम्रो अठोटलाई बिर्सियौं । खुल्ला दिशामुक्त घोषणा गरिएका साविकका गाविसहरुको अहिलेको अवस्था कस्तो छ भन्नेबारे यकिन विवरण शायद, स्थानीय तहहरुसँग छैन । भएपनि अब पूर्ण सरसफाईयुक्त स्थानीय तह निर्माण कसरी गर्ने भन्नेबारे स्पष्ट नीति छैन । देशका कतिपय स्थानीय तहले आफूलाई पूर्ण सरसफाईयुक्त घोषणा गरिसक्दा पनि जिल्लामा त्यसको लहर चल्न सकेको छैन । घोषणाका लागि मात्रै होइन, हामीले विभिन्न सूचकका आधारमा आफ्नो स्थानीय तहलाई पूर्ण सरसफाईयुक्त बनाउन सक्यौं भने विकास र समृद्धिका अन्य थुप्रै योजनामा टेवा पुग्छ । ति ठाऊँको पर्यटन प्रवद्र्धनदेखि मातृशिशु मृत्युदर कम गर्नेसम्मका कुरामा पूर्ण सरसफाईयुक्त अभियानले सहयोग पुग्छ । आगामी वजेटमा स्थानीय सरकारले पूर्ण सरसफाई अभियानलाई पनि प्राथमिकता दिने हो कि ?

प्रतिक्रिया दिनुहोस्