होमस्टेका लागि प्राप्त अनुदानको सदुपयोग होओस्
प्रदेश सरकारले गोरखाका २२ वटा होमस्टेलाई अनुदान दिने निर्णय गरेको छ । पहिलो चरणमा नौ वटा होमस्टेलाई १० लाख रुपियाँका दरले अनुदान प्राप्त भइसकेको छ । त्यसको काम भइरहेको छ ।
दोस्रो चरणमा फेरि १३ वटा होमस्टेलाई अनुदान दिने निर्णय भएको छ । यसका लागि प्रदेश सरकार धन्यवादको पात्र बनेको छ ।
सित्तै पाएको पैसाको कम सदुपयोग हुने गरेका उदाहरणहरु छन् । मासु पसललाई दिएका अनुदान, कृषि फर्मलाई दिएका अनुदानका धेरै उदाहरण समाजमा उपाहास भइरहेका छन् । होमस्टेका लागि दिइएको अनुदान पनि त्यस्तै नबनोस् भन्ने शुभेच्छा ।
होमस्टेका लागि दिइएको पैसाले होमस्टे संग सम्बन्धित सूचना केन्द्र सञ्चालन तथा प्रवद्र्धन संग सम्बन्धित सामुदायिक भवन, बहुउद्देश्यीय भवन, प्रदर्शनीस्थल जस्ता पूर्वाधार निर्माणका लागि सो रकम खर्च गर्न पाइने ब्यबस्था छ । यसका लागि स्थानीय सरकारले १० प्रतिशत थप गरिदिनु पर्ने व्यबस्था छ ।
तर अनुदान लिनका लागि मात्र होमस्टे चलाउने, अनुदान पाएपछि बन्द गर्ने रीतको बिगबिगी छ । यसो हुनु दुर्भाग्यपूर्ण छ ।
भयो भने न होमस्टे सञ्चालन गर्ने सरकारको लक्ष्य पूरा हुन्छ, न होम स्टे प्रवद्र्धन गर्ने स्थानीय सरकारको लक्ष्य पूरा हुन्छ ।
सो बजेटको काम गर्ने अवधि जम्मा डेढ महिना बाँकी छ । हतपत गरेर काम गर्दा गुणस्तरीय निर्माण नहुन सक्छ । स्थानीय सरकारको पनि १० प्रतिशत लगानी हुन्छ त्यसैले स्थानीय सरकारले पनि यसप्रति जिम्मेवार बन्नु पर्छ ।




