प्राङ्गारिक मलको प्रयोग बढाऔं
विगत वर्षजस्तै यो वर्ष पनि गोरखामा रासायनिक मलको अभाव भएको चर्चा शुरु भएको छ । वर्षायाम शुरु हुनु अघि मलको माग बढ्छ ।
वर्षे धानका लागि आवश्यक मल पनि यही बेला सञ्चय गरिराख्ने किसान धेरै छन् । जसका कारण ह्वात्तै माग बढ्ने गरेको छ । माग र आपूर्ति विचको सन्तुलन नमिल्दा सामान्य अभाव देखिएपनि जिल्लामा माग अनुसार मल उपलब्ध भैरहेको वितरकहरुको दावी छ ।
गोरखामा ४० हजार हेक्टर खेतीयोग्य जमिन रहेको तथ्याङ्क छ । त्यसमध्ये ३० हजार हेक्टर जमिनमा मलको उपयोग हुन्छ भन्ने मान्ने हो भने पनि वर्षेनी झण्डै २ करोड रुपैयाको मल आयात भैरहेको छ । अर्थात किसानले दुख गरेर आर्जन गरेको ठूलो रकम विदेसिने गरेको छ ।
एकातिर हामी रासायनिक मलका लागि वर्षेनी दौडधूप गरिरहेका छौं भने अर्कोतिर प्राङ्गारिक मल प्रवद्र्धनका कामहरु पनि भैरहेका छन् । संघीय र प्रदेश सरकारले किसानले गाऊँघरमै तयार पार्न सक्ने प्राङ्गारिक मल प्रवद्र्धनका लागि अनुदान लगायतका कार्यक्रम अघि सारेको छ ।
तर किसानको मन भने रासायनिक मलतिरै बढ्ता छ । बाली सप्रने लोभले मात्रा नमिलाई रसायनिक मल पयोग गर्र्दै हुदैं आएको छ । यसको असर स्वरुप माटोमा अम्लियपना बढि देखिन थालेको छ । माटोमा अम्लियपना बढ्नु भनेको माटोको उर्वराशक्ति घट्दै जानु हो । माटोको उर्वराशक्ति घट्दै गएपछि हामीले राम्रो उत्पादन लिन सक्दैनौ ।
यसैले खेतीबालीमा प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन गर्न सके रासायनिक मलको माग घट्दै जान्छ । स्थानिय स्तरमा नै पाईने वनस्पती तथा विभिन्न प्राणीबाट पनि आफैंले प्राङ्गारिक मल बनाउन सकिन्छ । यसैले स्वास्थ्य र वातावरणको संरक्षणका लागि प्राङ्गारिक मल उतपादन तथा प्रयोग बढाउनु जरुरी छ ।




