एकीकृत नमूना बस्ती निर्माणको गतिमा जोड देऊ
भूकम्पपछि विशेषगरी गोरखामा दुई ठाउँमा एकीकृत नमूना बस्ती निर्माणको काम भएका छन् ।
एउटा लाप्राकको गुप्सीपाखाको एकीकृत नमूना बस्ती र अर्को हो बगुवाको मिलन एकीकृत नमूना बस्ती ।
लाप्राकको एकीकृत बस्ती गैरआवासीय नेपाली संघ एनआरएनएले निर्माण गरेको हो । मिलन बस्ती भने स्थानीयबासीकै सक्रियतामा निर्माण हुदै गरेको हो ।
लाप्राकको बस्ती निर्माणको अन्तिम चरणमा छ तर मिलन बस्तीको निर्माण कार्य सुस्ती नै छ । त्यसो त सो बस्ती २०७६ को असारसम्म बनाइस्क्ने लक्ष्य छ । अहिले जम्मा ३० प्रतिशत काम निर्माण सम्पन्न भएको छ ।
भूकम्पपछि बारपाक लगायत बिभिन्न बस्तीलाई एकीकृत नमूना बस्ती बनाउने योजना थियो, तर बिभिन्न प्राबिधिक कारणबश बन्न सकेन । दुईवटा बस्तीलाई एकीकृत नमूना बस्ती बनाउने पहल गरिएपनि धेरै समस्या झेल्नु प¥यो । लाप्राकको एकीकृत बस्तीले पनि दुई वटा डेडलाइन गुजारिसकेको छ । मिलन बस्तीको काम पनि अनपेक्षित ढिला भएको हो ।
सरकारले एकीकृत नमूना बस्तीका लागि प्राथमिकता दिनुपर्छ । स्थानीय स्तरको सक्रियतामा निर्माण हुदै गरेको मिलनबस्तीका लागि सरकारले भरपर्दो टेवा दिनु जरुरी छ । गाउँपालिकाले पनि उत्तिकै चासो दिनुपर्छ । अप्ठेरो परेको अबस्थामा सहयोग गरिदिनु पर्छ । स्थानीयको पहल, होस्टेमा हैंसे गर्नुपर्छ ।
लाप्राकमा पनि कम्ती अड्चन छैनन् । त्यस्तो अड्चन फुकाउन सरकारले र गाउँपालिकाले पनि दृढ इच्छाशक्तिका साथ सहयोग गर्नुपर्छ । अनि मात्र बिस्थापितलाई राहत पुग्नेछ ।




