| आइतवार, कार्तिक २२, २०८३

झाडापखाला चाँडै नियन्त्रण गर

शहीद लखन गाउँपालिका ३ मनकामनाको ग्याजा, कोटगाउँ र लामाछापमा शुक्रबार बिहेको भोज खाएपछि सय भन्दा बढिमा झाडापखाला फैलियो । उनीहरुमा झाडापखाला देखिनुको एउटै कारण थियो, दुषित खानेपानी । ट्यांकीमा जम्मा गरेको फोहोर पानीले सयौंलाई थला पा¥यो । अझैपनि उनीहरु पुर्ण रुपमा निको भएका छैनन् । स्थानियका अनुसार गाउँमा खानेपानीको निकै समस्या छ । एकातर्फ पर्याप्त पानी छैन,अर्कोतर्फ पानीको मुहानलाई सुरक्षित बनाईएको छैन । जसकारण पानी पर्दा मुहानमा भल मिसिन्छ । त्यही पानी प्रयोग गर्दा अहिले देखा परेको झाडापखाला जस्तै आउँ, ज्वरो, हैजा लगायतका पानीजन्य रोगको जोखिम धेरै छ । विश्वभर ८८ प्रतिशत रोग दुषित पानीका कारण लाग्ने गरेको पाईन्छ ।। रोग लागेपछिको उपचार खर्च र यसबाट हुने क्षति कम गर्न बेलैमा सचेत हुनु जरुरी छ । बर्षायाम नजिकिदै छ, यो समयमा झनै पानीजन्य रोगका जोखिम बढि हुन्छन् । यसैले पानीजन्य रोगबाट जोगाउनका लागि गाउँपालिकाले ब्यबस्थित रुपमा खानेपानी योजनाको निर्माणलाई तिब्रता दिनुपर्छ । सबैलाई शुद्ध खानेपानी उपलब्ध गराउनुपर्छ । सबैभन्दा पहिले पानीको मुहानलाई सुरक्षित बनाउनुपर्छ । मुहानदेखि मुखसम्म शुद्ध र सफा पानी पु¥याउन योजना बनाउनुपर्छ । समुदायले प्रयोग गर्ने पानीको मुहानमा पशुपंक्षी छिर्न नसक्ने गरि संरचना बनाउनुपर्छ । पशुका लागि छुट्टै आहाल वा पोखरीको ब्यबस्था गर्नुपर्छ । दुषित पानीको प्रयोगका कारण आउन सक्ने समस्याका बारेमा सबैलाई सचेत बनाउनु जरुरी छ । गाउँपालिकाका बासिन्दालाई पानी शुद्धीकरण गर्ने उपायका बारेमा जानकारी दिनुपर्छ । स्थानिय आफैंपनि पानी पिउनु तथा प्रयोग गर्नुअघि त्यो शुद्ध छ छैन भन्ने बुझ्नुपर्छ । सधैभरी उमालेर, फिल्टर गरेर, ब्लिचिङ पाउडर प्रयोग गरेर वा स्वास्थ्यकर्मीको सिफारीसमा अन्य घरेलु विधिबाट पनि पानी शुद्धिकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । बजेटको अभाव भए स्थानिय तहमा क्रियाशिल खानेपानी तथा स्वास्थ्य सँग सम्बन्धित संघसंस्थाहरुसँग समन्वय गरेर खानेपानीको संरचना विकास तथा जनचेतनामुलक कार्यक्रम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्