| आइतवार, कार्तिक २२, २०८३

गोरखा दरबार पुनर्निर्माण ढिलाइको कारण खोज

भूकम्पको चौथो बर्ष पूरा हुदैछ । अहिलेसम्म नीजि आवास करिब ७५ प्रतिशत पूरा भएको तथ्यांक छ । विद्यालय र स्वास्थ्यचौकी धेरै बनिसकेका छन् । केही प्रहरीचौकी पनि बने ।
तर धार्मिक तथा ऐतिहासिक धरोहरहरुको पुनर्निर्माण असाध्यै सुस्त भएको छ । चुमनुब्रीमा रहेका सयौं बर्ष प्राचीन गुम्बाहरु जीर्ण अबस्थामा छन् । बनाउन भनेर केहीबर्षअघि निर्णय भए पनि विवादमा अल्झिँदा पुरातात्विक सम्पदाको अबस्था ज्यादै संकटग्रस्त छ ।
गोरखा दरबारको पुनर्निर्माण कार्य पनि अलपत्र छ । गतबर्षदेखि सुरु भएको ऐतिहासिक दरबारको पुनर्निर्माण कार्य एकबर्षसम्म जम्मा २० प्रतिशत मात्र प्रगति भएको हो ।
कहिले कुनै समस्या देखाएर कहिले कुनै समस्या देखाएर काम रोक्ने प्राय ठेकेदारहरुको प्रवृत्ति हो । अहिले काठ अभाव देखाएर काम रोकेको छ । तत्काल काठ नभएरै काम रोकिने अबस्था छैन । तैपनि ठेकेदारले बहाना बनाएर काम रोकेको हो ।
भत्किएर भद्रगोल भएको दरबारलाई लामो समयसम्म बिजोक अबस्थामा राख्नु मनासिब हुदैन ।
गोरखा बजार आउने पर्यटकको मुख्य रोजाइ गोरखकाली र गोरखनाथ मन्दिर तथा गोरखा दरबार नै हो । तर लामो समयसम्म पर्खालले छोपेर राख्नु, काम नगर्नु बदमासी हो ।
पुरातत्व बिभागले र जिल्ला प्रशासन कार्यालयले दरबार पुनर्निर्माणमा ढिलाइ हुनुको उचित कारणको खोजी गर्नुपर्छ । साथै उचित कारण देखाउन नसके काममा ताकेता गर्नुपर्छ । काम नगरे कारबाही गर्न पनि पछि पर्नुहुदैन ।
ठग ठेगदारलाई कारबाही गर्न गतबर्ष पनि गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालयले अग्रसरता लिएकै थिए । यसपटक पनि सो कदमलाई निरन्तरता दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्