बन्द हड्ताल बारम्बार नगर
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आव्हानमा बिहिबार नेपाल बन्दको आव्हान भयो । अनगिन्ती पटक बन्द हड्तालको आयोजना गर्दा पनि उल्लेखनीय उपलब्धी नभए पनि बन्द सो पार्टीले बारम्बार बन्द हड्ताल गरिरहेको हो ।
विप्लबले मात्र होइन, बिभिन्न संगठित समूहहरुले पनि बारम्बार बन्द हड्ताल गरिरहन्छन् । तर बन्द हड्ताल गरेको कारण सकारात्मक नतिजा निस्केका घटना नगन्य छन् । त्यसैले बन्द हड्ताल गरिरहनु आबश्यक छैन ।
बन्द हड्तालको मार ठूला तहकालाई खासै केही पर्दैन । यसको मार सामान्य नागरिकलाई पर्छ । दिनभर मजदुरी गरेर साँझ बिहान हातमुख जोड्नेलाई बन्दको सबैभन्दा ठूलो मार पर्छ ।
विप्लव नेतृत्वको पार्टीले आफूलाई सर्वसाधारण निम्नबर्गको जनताको पार्टी भन्ने दाबी गरेको सुनिन्छ, देखिन्छ तर उसको बन्द हड्ताल उसले नै भन्दै आएको सर्वसाधारण नागरिकको हित बिपरीत छ । यसले उसको लोकप्रियता होइन कि सिधासाधा जनताको मन कुँड्याउने काम भएको छ । तसर्थ यस्ता बन्द हड्तालका कार्यक्रम उसका लागि प्रत्यूत्पादक छ ।
हड्तालका बिभिन्न माध्यमहरु छन् । जापानमा अरु दिनमा भन्दा धेरै काम गरेर, आवश्यकता भन्दा धेरै उत्पादन गरेर बिरोध गर्छन्, जसले गर्दा सरकार अप्ठ्यारोमा पर्छ । यस्ता बिभिन्न रचनात्मक विरोधका कार्यक्रम गर्ने पराम्परा बसाउनु पर्छ । बन्द हड्ताल होइन ।




