सिसि क्यामेरा, नाम मात्रैको होला नि
लामो समयको अलमलपछि गोरखा वजारको मुख्य क्षेत्रमा सिसि क्योमरा जडान गरिएको छ । यसप्रकारको क्यामेरा जडानपछि शान्ति सुरक्षा कायम गर्न र वजारक्षेत्रमा हुने अवाञ्छित गतिविधिको निगरानी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वजार क्षेत्रमा सिसि क्योमरा जडान गरिएको छ भन्ने थाहा पाएपछि नागरिकमा एकप्रकारको स्वनियन्त्रण(सेल्फसेन्सरसीप) पनि हुने नै भयो । तर वजारक्षेत्रमा सिसि क्योमरा जडान गरिएपछि पनि चोरीका केही घटना भएका छन् । मुख्यवजारक्षेत्र हरमटारीमै केही पसलमा चोरीको प्रयास भयो भने एउटा पसलमा त चोरी नै भयो । तर अफशोच सिसि क्योमराले खिचेका दृश्यलाई आधार बनाएर चोरीमा संलग्नहरुलाई पक्राऊ गर्न सकिएन ।

क्यामेराको गुणस्तर त्यसको प्रमुख कारण रहेको जानकारहरुले बताउँदै आएका छन् । वजारमा हाल जडान गरिएकामध्ये धेरैजसो क्यामेरा अत्याधुनिक नाइट भिजन अर्थात रातिको दृश्यलाई पनि गुरास्तरीय देखाउने प्रविधिका छैनन् । यस्तो क्यामेराले खिचेका रातिका दृश्यमा ब्यक्तिको आकृति त देखिन्छ, तर पहिचान गर्न कठिन हुन्छ । लाखौं खर्चेर सिसि क्यामेरा जडान त गरिएको छ, तर कतिपय ठाऊँमा राति गुड्ने सवारी साधनको प्रकाश सिधै क्यामेरामा पर्दा उक्त सवारी साधनको नम्वर पहिचान गर्न कठिनाई हुने गरेको छ ।
कतिपय ठाऊँमा भने क्योमराको एंगल फेरवदल गर्नुपर्ने पनि देखिन्छ । यी प्राविधिक सुधार बाहेक वजार क्षेत्रका केही चोकहरुमा थप क्यामरा जडान गर्नु पनि जरुरी देखिन्छ । क्यामेरा जडान मात्रै नभै त्यसको उपयोगबाट शान्ति सुरक्षा कायम, आपराधिक घटना न्यूनीकरण भएको विश्वसनीय आधार पेश गर्न सक्ने अवस्था पनि बन्नुपर्दछ । त्यसबाहेक क्यामेरा जडान गरिएको छँदैछ भनेर प्रहरीले गर्ने रात्रीकालीन गस्तीमा कति पछिल्लो समय कमी आएको छ । सिसि क्यामेराको प्राविधिक सुधार र विस्तारसँगै प्रहरीको गस्ती बढाउने हो भने मात्रै क्योमरा जडानको औचित्य पुष्टि हुन सक्दछ ।




