पर्यटन विकास गर्न होटल ब्यबसायी नै लाग
नयाँबर्षको अघिल्लो दिन(शनिबार) गोरखामा यति धेरै स्वदेशी पर्यटक आए, गोरखाका होटल, लजले थेग्न सकेन । गोरखामा रात बिताउन परिबारसहित आएका उनीहरु फर्किएर खैरेनी वा अन्यत्रै गए ।
अहिले स्वदेशीहरुमा पनि घुमफिर गर्ने चलन पनि ह्वात्तै बढ्न थालेको छ । गोरखा बजारका बासिन्दा पनि धेरैसंख्यामा बाहिर गएका छन् । बाहिर अर्थात बाहिर जिल्ला वा विदेशसम्म पनि । बिभिन्न संघसंस्था, क्लव, समूहमा आवद्ध हुने अनि बेलाबेला बिभिन्न ठाउँ भ्रमणमा जाने परम्परा बढिरहेको छ ।
नयाँबर्षको दिनमा गोरखा संग्रहालय बन्द गरेर कर्मचारी पनि नयाँबर्ष मनाउन जान्थे । उनीहरु दिनभर खटिए फलस्वरुप चौधसय जना पर्यटकले संग्रहालय अवलोकन गर्न आए ।
गोरखा नेपालीले मन पराउने ठाउँ हो । यहाँ संग्रहाल, गोरखा दरबार, गोरखकाली मन्दिर, गोरखनाथ गुफा जस्ता भ्रमण गर्ने ठाउँ(केन्द्र) बढाउने हो भने पर्यटक गोरखा भ्रमण गरेर गोरखा बस्न चाहन्छन् । अनिमात्र गोरखाको पर्यटन विकास हुनेछ ।
अहिले त बढीमा दुईघण्टामा गोरखा बजारको घुमफिर सिध्याउने अनि बस्न अन्यत्र जाने प्रचलन छ । अब पर्यटकले हेर्ने, घुम्ने ठाउँको संख्या बढाएर गोरखा आएकाहरुलाई कम्तीमा एकरात गोरखामै राख्ने वातावरण बनाउनु पर्छ ।
त्यसका लागि होटल ब्यबसायीहरु तात्नु जरुरी छ । पर्यटकसंग सम्बन्धित संस्था गोरखामा कम छ । गतिबिधि सुन्य छ । त्यसैले पर्यटकबाट प्रत्यक्ष लाभ लिने होटल ब्यबसायीहरुले भ्रमण गर्ने क्षेत्रको वृद्धि गर्ने र पर्यटकलाई आकर्षण गर्न बिभिन्न प्याकेज दिने गर्नुपर्छ । अब पुरानै तरिकाले होटल ब्यबसाय नचल्न पनि सक्छ । चलेपनि पुरानै ढर्रामा चल्छ, जसले गर्दा गुणस्तरीय सेवा प्रबाह हुदैन । त्यसैले पर्यटन विकासका लागि होटल व्यबसायीले नै अगुवाई गर्नुपर्छ ।




