| आइतवार, कार्तिक २२, २०८३

गिटी बालुवा उत्खननको अनुगमन गर

लामो अबरोधपछि बल्लतल्ल मेसिन प्रयोग गरी गिटी बालुवा उत्खनन अनुमति खुलेको छ । व्यवसायीहरुले अहिले धमाधम दरौंदी, त्रिशुली, मस्र्याङ्दी, बुढीगण्डकी र चेपे किनारको ढुंगा, गिटी, बालुवा उत्खनन गरिरहेका छन् ।
जिल्ला अनुगमन समितिले टायरवाला व्याकहु लोडरको प्रयोग गरी उत्खनन गर्न पाउने व्यबस्था गरेको हो । समतिले उत्खननका लागि समयसीमा पनि तोकेको छ, गहिराई त ठेक्का लगाउने निकाय अर्थात स्थानीय तहले नै निर्धारण गरेको छ ।
तर यतिबेला उत्खननको काम कसरी भइरहेको छ भनेर अनुगमन गर्नु जरुरी छ ।
विकास निर्माणको काम गर्नु जति जरुरी छ, नदी किनारको संरक्षण गर्नु त्यति नै जरुरी छ । र प्राकृतिक संपदाको संरक्षण गर्नु पनि सबैको दायित्व हो । बढि दायित्व स्थानीय सरकारको हो ।
दोहन गर्न सबैले सक्छन्, संरक्षण गर्न कमैले सक्छन् । त्यसैले उपभोगका अलवा संरक्षणमा पनि ध्यान दिऔं । दोहनले पुल, साँगु, मसानघाट, खेत आदिको क्षयिकरण हुन्छ । दोहनले खोला गहिरिन गयो भने खोला भन्दा कुलो माथि बन्नेछ ।
अनि कुलोमा पानी बग्नेछैन । खेतमा सुख्खा लाग्नेछ । ठेकेदार, क्रसरवालाले अकुत कमाउनेछन् तर गरीब किसानको खेत सुक्नेछ ।
त्यस्तै बिभिन्न प्रकृतिक असन्तुलन हुन गई सोचे, नसोचेको विपत्ति निम्तिन सक्नेछ ।
त्यसैले विकास निर्माणको काम रोकिने त्रासले उत्खननप्रति चिन्ता गरे झैं आम विनाश हुने त्रासले संरक्षणको बारेमा पनि चिन्तन गर्नु जरुरी छ ।
निर्धारित गहिराइ भन्दा गहिरो उत्खनन भए नभएको, निर्धारित परिमाण भन्दा धेरै उत्खनन भए नभएको अनुगमन कार्यमा जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्