खबरदार ! नदी बगर असीमित दोहन नहोओस
जिल्ला अनुगमन समितिले स्थानीय तहले माग गरे झैं मेसिन प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन गर्न अनुमति दिने निर्णय गरेको छ । यो निर्णयपछि क्रसर उद्योग बन्द गर्ने निर्णय गरेका क्रसर ब्यबसायीहरु खुशी छन् ।
यो निर्णयपछि स्थनीय तहमा नदीजन्य सामग्री उत्खनन गर्ने ठेक्का पारेका ठेकेदारहरु खुशी छन् । नदीजन्य सामग्री नपाएर विकास निर्माणको काम रोकेर बसेका ठेकेदारहरु खुशी भएका छन् । यो निर्णयले घाट ठेक्का लगाएर पेश्की लिएका, राजस्व लिएका स्थानीय तहका जनप्रतिनिधि खुशी भएका छन् । विकास निर्माणको काम सुचारु हुने भएपछि प्राय सबै खुशी भएका छन् ।
तर यो निर्णय दुखदायी त होइन, तर यो निर्णयको दुरुपयोग भयो र नदी दोहन हुन थाल्यो भने दुर्भाग्य हुनेछ । बगेर आउने हो, हामीले नझिके बगेर जाने हो भन्ने मूख्र्याई गरेर अथाह दोहन भएमा दुर्भाग्य हुनेछ ।
प्राकृतिक सम्पदालाई ख्याल ख्याल गर्ने बिषय होइन । प्राकृतिक प्रकोप भयो भने यो मानव नियन्त्रित हुनेछैन । जसरी ५६ सेकेण्डको भुइँचालोले यत्रो बिनाश ग¥यो, दुई मिनेटको हुण्डरीले तराईमा त्यतिका बिनाश ग¥यो, यदि बगर धेरै खोतल्यौं भने बर्खाको नदीले पनि त्यस्तै विनाश नगर्ला भन्ने कुनै ग्यारेण्टी छैन । त्यतिबेला एउटाले अर्कालाई दोषी देखाएर हुनेवाला केही छैन ।
विपदले राजनीतिक पार्टी चिन्दैन, प्राकृतिक विपदले धनी गरीब चिन्दैन, प्राकृतिक प्रकोपले सुकिला मुकिला र मैलाधैला चिन्दैन । विपद सबैलाई उत्तिकै आउने छ ।
त्यसैले निर्धारित समयमा, निर्धारित परिमाणको मात्र नदीजन्य सामग्री उत्खनन गर्नुपर्छ । त्यसरी उत्खनन गरे नगरेको कडा अनुगमन हुनुपर्छ ।




