| शनिबार, अशोज ९, २०८३

अब नागरिकता लिनेहरु स्वत: मतदाता

मेरी आमालाई नपत्याउने, ठूला बा पत्याउने राज्य

सुदन अधिकारी

कुनै सार्वजनिक विषयमा धारणा बनाउँदा ‘म’ बाट माथि उठ्दै ‘तिनीहरू’ वा ‘उनीहरू’ बनेर सोच्नुभएको छ, जसलाई त्यो विषयले दुरगामी असर पार्छ?

अहिले संसददेखि सामाजिक सञ्जालसम्म बहस भइरहेको नागरिकता विधेयकबारे त्यसैगरी सोच्ने कोशिस गर्नुहोस् त।

यस सम्बन्धमा म आफ्नो परिवारको घटना सुनाउन चाहन्छु।

मेरो दाइले बिहे गरेको पाँच वर्ष भयो। बिहे भएको बीस दिनमै उहाँ वैदेशिक रोजगारका लागि दुबई जानुभयो। दुई वर्ष उतै बसेर घर फर्किनुभयो, अनि घरायसी काममै व्यस्त रहनुभयो।

‘जेठो छोराको बच्चाबच्ची भा’ छैन अहिलेसम्म? अब त ढिलो भो नि। नाति खेलाउने रहर छैन कि क्या हो तपाईंलाई?’ मेरी आमालाई बाटाघाटामा भेट्ने अधिकांशले यस्तै प्रश्न सोधेका हुन्थे।

आमा हाँसेर टार्नुहुन्थ्यो।

दाइ–भाउजूले त झन् यो प्रश्न कति सामना गर्नुभयो कति?

भर्खर २७ र २३ वर्ष टेकेका दाइ–भाउजू समाजको यस्तो प्रश्नको जवाफ खोज्न अलिक हतारिनुभयो।

मैले आफू पढ्ने मेडिकल कलेजमा दाइ–भाउजूलाई परीक्षण निम्ति डाकेँ।

दाइमा चलायमान शूक्रकीटको प्रतिशत कम देखियो। औषधि खाएर ठिक हुन्छ भन्ने डाक्टरको भनाइ सुनेपछि बल्ल उहाँ ढुक्क हुनुभयो। दाइ–भाउजू एकअर्कालाई हेर्दै मुसुक्क हाँस्नुभयो।

मलाई लाग्यो, यो दम्पती यही कुरा सुन्न तड्पिइरहेको रहेछ।

हरेक महिना औषधि सेवनसँगै अस्पताल आएर शूक्रकीटको अवस्था जाँच्नुपर्ने डाक्टरको सल्लाह लिएर उहाँहरू फर्किनुभयो।

यसैबीच दाइभन्दा दुई वर्ष कान्छी दिदीको बिहे भयो।

छुट्टीमा घर आएका दाइ आफ्नो भिसा रद्द गरेर अस्पताल आउनेजाने गर्न थाल्नुभयो। कुनै महिना एक्ले आउने, कहिले भाउजूलाई पनि सँगै ल्याउने।

उता, दिदीले बिहे गरेको वर्षदिनमै छोरी जन्मियो।

त्यसपछि त दाइ–भाउजू र आमालाई समाजले सोध्ने प्रश्न झनै बढ्यो।

दिदी अहिले भान्जीको पहिलो ‘बर्थडे’ मनाउने तरखरमा हुनुहुन्छ। दाइ–भाउजू भने डाक्टरकहाँ धाउँदा धाउँदै वाक्क हुनुभयो, सायद।

दाइ समाजको प्रश्न अनुत्तरितै छाडेर फेरि केही वर्षलाई वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ।

दाइ–भाउजूलाई ‘भगवानसँग एउटै चिज माग्नुपरे, के माग्थ्यौ’ भनी सोधे निसंकोच सन्तान भन्नुहुन्छ।

दिदी भने त्यति साधारण कुरा पनि भगवानसँग वरदान माग्नुपर्छ र जस्तो गर्नुहुन्छ।

एकै कोखबाट हुर्किएका दाइको समस्या दिदीलाई विशेष लाग्दैन, किनकि दिदीले त्यो ‘उपहार’ पाउन केही दु:ख गर्नै परेन। सन्तान नभएकोमा समाजले सोध्ने प्रश्न झेल्नै परेन।

कसैलाई सित्तैमा पाएजस्तो, कसैलाई लाख कोशिस गर्दा पनि रित्तो हात!

पाउनेलाई नपाउनेको पीडा के थाहा?

नागरिकताको विषय पनि ठ्याक्कै यही हो।

आफ्नो बाबुको हात समाएर प्रशासन पुगी नागरिकता प्रमाणपत्र प्राप्त गरेकालाई यही समाजभित्र कसैले आफ्नो जिन्दगीका कयौं वर्ष नागरिकता पाउने आशमा बिताउँछ भन्ने सुन्दा पत्याउने आधार नहोला।

बाबुसँग गएर एकै घन्टामा नागरिकता बनाएको झल्झली याद आइरहँदा कोही आएर आमासँग नागरिकता बनाउन जाँदाको दुःख बेलिविस्तार लगाए कसरी पत्याउनु? उनीहरू त त्यस्तो कुरा सुन्दा पनि दिक्क मान्दो हो।

मान्छेलाई आफूले भोग्नु नपरेका सबै घटना काल्पनिक लाग्छन्। आफूले नभोगेको विभेद अरूका मुखबाट सुन्दा खित्कै छुट्छ।

यसको कारण के भने, हामी हरेक सन्दर्भलाई ‘म’ भएर हेर्छौं। ‘उनीहरू’ वा ‘तिनीहरू’ बनेर कहिल्यै सोच्दैनौं।

समस्याको जड यही हो।

तपाईंहरूमध्ये धेरैले सजिलै प्राप्त गर्नुभएको नागरिकताका लागि यहाँ कसै-कसैले कयौं वर्ष हन्डर खाएका छन्। त्यसको एक भुक्तमान म पनि हुँ।

माओवादी ‘जनयुद्ध’ क्रममा बुबालाई सेनाले बेपत्ता बनाएपछि म नौ वर्षको उमेरमा काठमाडौंको ‘मित्रता नेपाल’ नामक एक गैरसरकारी संस्थामा पुगेँ।

सुरु सुरुमा घरको यादले सताए पनि म विस्तारै त्यहाँको वातावरणमा घुलमिल भएँ। त्यहाँ मजस्ता तीस जना बालबालिका थिए, जुन पछि बढेर सय नाघ्यो। तीमध्ये अधिकांश एकल महिलाका सन्तान थिए। कोही आमाबाबु दुवै नभएका पनि थिए। कसैका दुवै भए पनि चरम गरिबीले ल्याइएका थिए।

दिन बिते। रात बिते।

महिना बिते। वर्ष बिते। वर्षौं बिते।

मलाई घरपरिवारको यादले फेरि सताउन थाल्यो।

एसएलसी दिएँ। त्यसपछि मलाई नागरिकताको आवश्यकताबारे जानकारी भयो।

मेरो घर गोरखा जिल्लाको हंसपुर गाविस (हाल अजिरकोट गाउँपालिका) हो। म आमालाई लिएर २०६८ चैतमा नागरिकताको निम्ति गाविसको सिफारिस लिन गएँ।

आमा मेरो नागरिकताको सिफारिस लिन जान लागेको थाहा पाएपछि काका पर्ने गाउँका शिक्षकले भनिहाले, ‘भाउजू, सिफारिस मात्र लिएर के गर्नु। जिल्लामा मान्दैन।’

छोरालाई आफ्नो नामबाट नागरिकता दिलाउने आमाको प्रयासलाई छिर्के हान्ने ती शिक्षक तिनै थिए, जो ‘जनयुद्ध’ कालमा न्याय र समानताका कुरा गर्थे।

सरकारी प्रौढ शिक्षा कार्यक्रमपछि मात्र हस्ताक्षर गर्न जान्नुभएकी मेरी आमा सरकारी कार्यालय जाने भनेपछि आत्तिहाल्नुहुन्थ्यो।

गाविसबाट सिफारिस बनाएपछि हामी आमाछोरा जिल्ला प्रशासन कार्यालय गोरखा गयौं। बुबाको नागरिकताको फोटो अस्पष्ट थियो। चिनारीस्वरुप त्यही फोटो मात्र थियो हामीसँग। आमाले त्यो फोटो निकालेर ठूलो बनाई फेरि टाल्दिनुभयो।

नागरिकता फाँटका कर्मचारीले पहिला बुबाको नागरिकता मागे।

आमाले बुबाको नागरिकतासँगै आफ्नो नागरिकता पनि दिनुभयो।

उनले दुवै हेरे।

आमाको नागरिकता तुरुन्तै फिर्ता दिए। अनि, बुबाको नागरिकता गहिरिएर हेर्न थाले।

‘विवरण केही बुझिँदैन। सक्कली हो कि नक्कली कसरी छुट्टयाउने?’ नागरिकता फाँटका कर्मचारीको प्रश्नमा आमाले जवाफ फर्काउन नपाउँदै उनैले बोले, ‘कि गाविसबाट अर्को सिफारिस लिएर आउनू कि श्रीमानको दाजुभाइ कोही भए ल्याउनुस्।’

भोलिपल्ट हामी आमाछोरा गोरखा सदरमुकाममै बस्ने गाविस सचिवलाई भेटेर आफ्नो गुनासो सुनायौं। आफूले चाहिने सबै सिफारिस बनाइदिएकाले थप गर्न नसक्ने भन्दै उनले रुखो जवाफ दिए।

‘म जान्छु आमा,’ मैले आमासँग भनेँ, ‘पछि ठूलोबासँग आउँछु।’

आमा चुपचाप बस्नुभयो। केही बोल्न सक्नुभएन। अलिक पर बाटोमा आएपछि मलाई अंगालो हालेर रुन थाल्नुभयो।

पछि थाहा पाएँ, रगतको नाता रहेका ठूलोबाले बिनासन्दर्भ रुखो बचन बोल्ने गर्नुहुँदो रहेछ। उहाँ त्यही रुखो बचन सम्झेर मेरो नागरिकता बनाउन आफू मात्र आउनुभएको रहेछ।

अथक प्रयासपछि पनि आफ्नो नामबाट नागरिकता दिलाउन असफल भएपछि उहाँले आफूलाई थाम्न सक्नुभएन। उहाँको पीडा आँसु बनेर बग्यो।

पछि ठूलोबासँगै गएर त्यही अस्पष्ट भनिएको बुबाको नागरिकताबाटै आफ्नो नागरिकता बनाएर म काठमाडौं आएँ।

आमासँग आउँदा नानावली कुरा सोधेर टार्ने नागरिकता फाँटका ती अधिकारीले ठूलोबा अगाडि परेपछि चुपचाप काम गरिदिए।

नागरिकता बोकेर हिँड्न थालेको केही वर्षपछि मात्र मैले नागरिकता फाँटनजिकै खसेका आमाको आँसुको मूल्य बुझेँ।

आमाले अहिले चलिरहेको नागरिकतासम्बन्धी बहस सुन्न पाउनुभएको छैन। त्यो आँसु अब नआउला सायद।

आजभोलि मेरो मन भने उद्वेलित भइरहन्छ। अनि आफैं प्रश्न जन्मन्छ, मैले नागरिकता प्राप्तिकै लागि भोगेको पीडा मेरो आगामी पुस्ताले भोग्नुपरे आफूलाई कसरी सम्हाल्दो हो?

अर्को मन लाग्छ, अहिले चलिरहेको विमर्शले दिने सुखद नतिजा आमालाई सुनाउने दिन टाढा छैन कि?

मेरो यो भोगाइ पढिरहनुभएका तपाईंहरूमध्ये कसैलाई लाग्ला, यो भावनामा बगेको कुरा हो। आफूले सजिलै पाएको नागरिकता लिन यत्रो पापड बेल्नुपर्दैन होला भन्ने तपाईंहरूलाई लाग्ला।

कोही भने सरकारी विभेदले पाउने यस्तो दुःख आगामी पुस्ताले भोग्नु नपरोस् भन्ने सोच्नुहोला।

मेरो भोगाइ पढेपछि तपाईंको मनमा यी दुईमध्ये कुन विचार आयो?

आफ्नो परिवारको नितान्त व्यक्तिगत कुरा समेटिएको यो घटनामा हामीले बनाउने विचार नै अहिले नागरिकता बहसमा उठ्ने दुईथरि सोचाइ हुन्।

मेरो नागरिक अनुभव यहीँ सकिन्न।

आफ्नो नागरिकता बनाएर काठमाडौंको ‘मित्रता नेपाल’ फर्केपछि मभन्दा साना भाइबहिनीले नागरिकता बनाउँदा भोग्नुपरेको कठिनाइसँग साक्षात्कर भएँ।

राजकुमार र दिलकुमार बलामी दाजुभाइ हुन्। उनीहरू मसँगै ‘मित्रता नेपाल’ मा थिए। बुबाले दोस्रो बिहे गरेर बेवास्ता गरेपछि उनीहरू दोलखाबाट आफ्नी आमासँगै काठमाडौं आएका थिए।

एसएलसीपछि काम र पढाइ सँगसँगै बढाउने उनीहरूको चाहना थियो। तर, नागरिकता अपरिहार्य सर्त बन्यो।

पूरै जिन्दगी छोराहरू हुर्काउन समर्पित आमाले आफ्नो नामबाट नागरिकता बनाउन जाँदा अनेक कष्ट झेलिन्। कि गाउँका पाँच जनाको नामसहितको हस्ताक्षर गरेर प्रमाणित गरी ल्याउनोस्, कि श्रीमानसँगै आउनोस् भनेर उनीहरूलाई फिर्ता पठाइँदो रहेछ।

यो घटना सुनाउँदा बलामी दाजुभाइको अनुहारमा आक्रोश झल्किन्थ्यो।

अंश हकदाबी गर्छ भन्ने त्रासमा उनीहरूका बुबाले आफ्नो नामबाट नागरिकता दिन आनाकानी गरेको राजकुमार बताउँथे।

उनले तीन महिनाअघि मात्र मलाई फोन गरेर भने, ‘बल्लबल्ल बन्यो दाइ नागरिकता। एउटा नागरिकता बनाउन त यस्तो लफडा हुने रैछ यो देशमा। म त अब विदेश गइहाल्ने हो दाइ।’

मैले केही जवाफ दिइनँ।

आफूले केही वर्षअघि नागरिकता प्राप्त गर्दाको पीडा फेरि एकएक गर्दै सम्झिएँ।

अर्की थिइन्, ईश्वरी। उमेरले मभन्दा तीन वर्ष ठूली। उनले आफ्नो नामपछाडिको थर थाहा पाउन जीवनको तीन दशक काट्नुपर्यो।

बीस वर्षअघि बेवारिसे अवस्थामा ‘मित्रता नेपाल’ ल्याइएकी ईश्वरीको आमाबुबा दुवैको पहिचान थिएन। उनले नागरिकता पाउन ठ्याक्कै पाँच वर्ष लाग्यो।

उनीसँग नागरिकता प्राप्तिका कठिनाइ र अवरोधबारे कुरा गर्दा दिक्दारीपनको झल्को मैले पाएँ।

नागरिकताबारे बहस चल्दा एउटा पक्ष सधैं राष्ट्रिय स्वाधीनता र सुरक्षाको हाउगुजी देखाएर आफ्नो पैरवी गर्छ। आमाको नामबाट नागरिकता लिँदा बाबुको परिचय देखाउनुपर्ने भनी विचाराधीन विधेयकको पैरवी गर्दै संसदीय बहसमा एक माननीय सांसदले भन्नुभएछ, ‘आमाको नामबाट नागरिकता दिन थाले नेपाली महिलाले विदेशी बच्चा पाउने अभियान चलाउँछन्।’

कतिले भन्नुहुन्छ, ‘कथित समानताका नाममा नेपालभित्र विदेशी भित्र्याउने कार्यले नेपाललाई सिध्याउनेछ।’

उहाँहरूलाई म एकदमै सरल प्रश्न सोध्न चाहन्छु– के हामीले मेरी आमाजस्ता हजारौंको सिन्दुर पुछेर, मजस्ता कयौंलाई बाल्यकालमै टुहुरा बनाएर हासिल गरेका राजनीतिक उपलब्धि यति फितला छन्, जहाँ मैले आफ्नी आमाको नामबाट नागरिकता लिएकैले ती भड्खालोमा जान्छन्?

समानताको लडाइँमा बेपत्ता भएका आफ्ना श्रीमानको अभावमा आफ्नै नामबाट मलाई नागरिकता दिलाउन असमर्थ मेरी आमाको माग नाजायज हो भने तत्कालीन समयमा तपाईंहरूले बाँडेका आश्वासन के हुन्?

नागरिकतामा महिला–पुरुष विभेद नगरियोस् भन्ने माग सुन्नै नचाहने राजनीतिक नेतृत्वले गणतन्त्र, समानता, सामाजिक न्यायबारे लगाउने एकोहोरो रटान हामी जनताले किन सुन्ने?

यो देशको माया हामीमा कम र तपाईंहरूमा बढी छ भनी देखाउने तराजु कसैसँग छ?

नेपालजस्तो भूराजनीतिक र रणनीतिक हिसाबले अत्यन्त संवेदनशील सानो देशमा नागरिकताजस्तो विषय हलुका बनाइनु हुन्न भन्नेमा दुईमत छैन, तर महिलालाई अधिकार दिने सवाल आउनेबित्तिकै खोक्रो राष्ट्रवाद देखाउने राजनीतिक नेतृत्वको बचपनाले यो समस्या थप पेचिलो बनाउनेछ।

प्रश्न फेरि उठ्छ, के यो देशको स्वाधीनता जोगाउने सर्तमा मेरी आमाहरूले सधैंभरि राज्यको यो विभेदकारी नीति चुपचाप सहिरहनुपर्ने हो?

समाज विखण्डन हुनेछ वा देश सिध्याउने खेल रचिनेछ भनेर यो बहसलाई तपाईंहरूले चाहेजसरी टुंग्याउन मेरी आमाहरूले नागरिकता दिलाउन रगतको नाता पर्ने ठूलोबा वा सानोबालाई बिन्ती गरिरहनुपर्ने?

आफ्नो जिन्दगीका सारा सपना त्यागेर मेरो भविष्य बनाउन दिनरात लागिरहने मेरी आमाको नामबाट मैले नागरिकता प्राप्त गर्न नसक्ने कानुन बनाउनेलाई म घृणा गर्छु।

नेपालीका नाममा फर्जी नागरिकता लिनेलाई कडाभन्दा कडा सजाय दिइयोस्। केही पैसामा जिम्मेवार निकायबाटै नागरिकता बाँडिएको समाचार बन्द होस्। हामी नागरिकले अरू के पो गर्न सक्छौं र!

तपाईंहरू आफैं विभिन्न बहानामा फर्जी नागरिकता बाँड्ने, तर देशभित्रका मजस्ताले सहजै नागरिकता पाउनुपर्छ भन्दा सुरक्षाको हाउगुजी देखाउने?

जिम्मेवार निकायमा बस्ने तपाईंहरूलाई असंवैधानिक काम रोक्न कसले अवरोध गर्छ? तर, ‘आफैं धामी आफैं झाँक्री’ बन्न त पाइएन नि!

आशा छ, मेरा सन्तानले आफ्नी आमासँग नागरिकता बनाउन जाँदा मैले भोगेजस्तो कठिनाइ भोग्न नपरोस्। आफ्नो जिन्दगीभर न्याय र समानताको पैरवी गरेर सत्तामा पुग्नुभएका तपाईंहरू यो विभेदकारी विधेयक संशोधन गर्न ढिलै भए पनि अग्रसर हुनुहुनेछ।

(लेखक भरतपुर मेडिकल कलेजमा एमबिबिएस अन्तिम वर्ष अध्ययरत छन्।)

प्रतिक्रिया दिनुहोस्