बत्ती, पानी, फोनको महशुल समयमै तिर्ने गर
पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आइतबार मालपोत कार्यालयसहित पाँच जना सर्वसाधारण व्यक्तिको घरको खानेपानी लाइन काट्यो ।
तीन महिनाभन्दा लामो समयसम्म पनि महसुल नतिर्नेको लाइन काट्ने नीति अनुसार लाइन काटिएको अध्यक्षको भनाइ छ । संस्थाले पहिलो चरणमा लाइन काट्ने १५ जनाको नाम सार्वजनिक गरेको छ । नयाँ घर बनाउन प्रयोग गरेको पानीको महशुल पनि लामो समयसम्म नतिर्नु लापार्बाहीको पराकाष्टा हो ।
अझै सरकारी कार्यालयले समेत महशुल नतिर्नु झन लापार्बाही हो । सरकारी कार्यालयलाई पानी, बत्ति, टेलिफोनको महशुल तिर्न माथिल्लो निकायबाट रकम आउँछ । सो रकम अन्य शीर्षक मा खर्च गरेर वा लापार्बाही गरेर महशुलको पैसा नतिर्नु गम्भीर लापार्बाही हो । एक महिना तिरेन भने अर्को महिना खप्टिएर दोब्बर हुन्छ, त्यो झन तिर्न गाह्रो हुन्छ । त्यसैले कुनै पनि महिना खप्टिन नदिई नियमित रुपमा महशुल तिर्दा सजिलो हुन्छ ।
विद्युत प्राधिकरणको बक्यौता पनि त्यस्तै धेरै छ । टेलिकमको पनि उत्तिकै छ । बक्यौता नतिर्नु, त्यसमाथि पनि सरकारी कार्यालयले, यो लाजमर्दो कुरा हो । सरकारी कार्यालय त सर्ब साधारणका लागि उदाहरणीय हुनुपथ्र्यो, तर सर्वसाधारणको नजरमा कमजोर र बदनामी देखिँदा सर्बसाधारणको नजरमा गिर्छ । जब सर्बसाधारणको नजरमा गिर्छ, तब विश्वास हराउँछ अनि सर्बसाधारणमा नियम कानूनको कुरा गर्न कठिन हुन्छ । त्यसैले आफ्नै अस्तित्वका लागि, इज्जतका लागि, आफ्नै मान सम्मानलाई उच्च राख्न पनि महशुल बुझाउनु पर्छ । अरुको नजरमा कमजोर देखिनुहुदैन ।




