| शनिबार, अशोज ९, २०८३

संस्कृति संरक्षणमा प्राथमिकता देऊ

मंगलबार लाप्राकमा मकै बिहे धुमधामले भयो । यसअघि लापु, लप्सीबोट, सिङ्ला, गुम्दा, उहिया, खोर्लामा पनि मकै बिहे धुमधामले भइसकेका छन् । यी र यस्तै खबरले बुधबार मकै बिबाहका बारेमा राष्ट्रिय चर्चा भएको छ । यसले गर्दा मकै बिबाह धार्चेको एउटा महत्वपूर्ण संस्कृतिको रुपमा स्थापित भएको छ । अर्थात धार्चेले अब मकै बिबाहको थप प्रचार प्रसार गरेमा आन्तरिक तथा बाह्य पर्यटक मकै बिहे हेर्न, वृत्तचित्र बनाउन ओइरिनेछन् । मकै बिहेलाई जिल्ला व्यापी रुपमा, राष्ट्रिय रुपमा प्रचार गरेर आयोजना गरेमा सो दिनमा लाप्राक मात्र होइन, धार्चे नै पर्यटकले भरिभराउ हुनेछ । यसको सकारात्मक प्रचार गरी पर्यटकसम्म पु¥याउन कति सक्छ, त्यसमा भर पर्छ । गाउँपालिकाले मकै बिहे जस्ता अनौठा संस्कृतिलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रम बनाएर कार्यान्वयन गरेमा धार्चे क्षेत्रको पर्यटन व्यबसाय फस्टाउनेछ ।
धार्चे जस्ता अनौठा संस्कृति भएका ठाउँहरु अरु पनि छन् । गाउँपालिका पिच्छे बेग्लाबेग्लै संस्कार र संस्कृति छन् । त्यस्ता संस्कृतिको प्रवद्र्धन गर्नमा स्थानीय सरकारले कार्यक्रम बनाएर लागु गर्नुपर्छ । आफ्नो ठाउँ,हावापानी र माटो सुहाउँदो कार्यक्रम बनाउन स्थानीय सरकारको कर्तव्य हो । अधिकार पनि छ । जसरी सहिद लखन गाउँपालिकाले लखन थापा स्मृति दिवस र गुठीपञ्चमीको दिनलाई गाउँपालिका स्तरको उत्सवको रुपमा मनाएको छ, त्यस्तै गरी अरु गाउँपालिकाले पनि आफ्नो पहिचान बोकेको दिनलाई यसै गरी प्रवद्र्धनात्मक कार्यक्रम गरेर मनाए संस्कृतिको संरक्षण पनि हुनेछ, पर्यटन विकास पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्