| शुक्रबार, अशोज ८, २०८३

रुपमात्र होइन, अस्पतालको गुणस्तर पनि बढोस्

गोरखा अस्पतालको नयाँ भवन २५ करोड रुपियाँको लागतमा बन्ने भएको छ । जर्मनी संस्था केएफडब्लुले अत्याधुनिक सुविधा सम्पन्न चार तले भवन बनाउन लागेको हो । भवन निर्माण सम्पन्न भएपछि आवश्यक औषधी उपचार तथा स्वास्थ्य परीक्षण गर्ने उपकरण समेत उपलब्ध गराउने भएको छ ।नयाँ भवन बन्ने निश्चित भइसक्दा अझै पनि पुरानो, जीर्ण भवन भत्काउन ढिलाइ भइरहेको छ । पुरानो भवन भत्किने, नयाँ नबनिसक्ने संक्रमणकालभरि गोरखा अस्पतालले कसरी सेवा सुविधा देला ? चिन्ताको बिषय छ । जे होस्, जसोतसो समायोजन गरेर अस्पताललाई टिकाइराख्नेछ ।
यसो हुँदा गोरखा अस्पतालको स्तर त पक्कै बढ्नेछ । सुविधासम्पन्न हुनेछ । अब बाँकी रह्यो गुणस्तर वृद्धिको । जसरी मान्छे राम्रो भएर मात्र पुग्दैन, असल पनि हुनुपर्छ । त्यसैगरी अस्पतालको होस् वा विद्यालय वा सेवा प्रदायक जुनसुकैको पनि जेको पनि रुपस्तर वृद्धि भएर मात्रै हुदैन, गुणस्तर पनि वृद्धि हुनुपर्छ ।
गोरखा अस्पतालमा जतिबेला मेसु गुणराज लोहनी, मेसु केशवराज भुर्तेल थिए, त्यतिबेला जनमानसमा अस्पतालप्रति आस्था थियो । साना वा ठूला बिरामी भएमा गोरखा अस्पताल जाने गर्ने । गोरखा मात्र होइन, स्त्री तथा प्रसुती रोगका बिरामी धादिङ, लम्जुङदेखि पनि गोरखामा आउँथे । अस्पतालमा बिरामी बढेसंगै सेवा पनि दिनपरदिन बढ्दै गएको थियो ।तर पछि मेसु परिवर्तनसंग अस्पतालको गति पनि धिमा हुदै गएको जगजाहेर छ । अहिले सामान्य बिरामी बाहेक ठूला बिरामी भरतपुर, काठमाडौं, पोखरा लगायतका सहर हानिने गरेको छिपेको छैन ।सरकारले पनि राम्ररी सहयोग नगरेकोका अस्पतालको गुनासो रहने गर्छ । जनशक्ति तथा उपकरणको अभाव रहने गरेको अस्पताल प्रशासन गुनासो गर्छ ।अब जर्मन संस्थाले भवन लगायतका उपकरण सहयोग गरेमा अस्पतालले दिने सेवा सुविधा दोब्बर, तेब्बर बढ्नुपर्छ भन्ने आशा छ ।

प्रतिक्रिया दिनुहोस्